स्थायी कमिटिको निर्णय विपरीत सत्तारुढ नेकपामा राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन तयारी

स्थायी कमिटिको निर्णय विपरीत सत्तारुढ नेकपामा राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०७६
  • 4.1K
    Shares

केपी शर्मा ओली र पुष्पकमल दाहाल

दश दिन अघि सकिएको स्थायी कमिटिको निर्णय विपरीत सत्तारुढ नेकपाले राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया शुरु गरेको छ । त्यस स्थायी कमिटिको बैठकले लामो छलफल र बहसपछि पार्टीभित्र हुने निर्णय प्रक्रिया, विधिसङ्गत, सामुहिक र संस्थागत बनाउने निर्णय गरेको थियो। तर यो निर्णयलाई नेकपाले कागजमा सिमित गर्दै महत्त्वपूर्ण निर्णयहरु केन्द्रबाटै गर्ने गृहकार्य थालेको छ ।

माघ ९ गते राष्ट्रिय सभाका १८ सदस्य पदका लागि निर्वाचन हुदैछ । यसका लागि निर्वाचन आयोगले यही पुस २० गते उम्मेदवार मनोनयनको समय तोकेको छ । आयोगले तोकेको समय तीन दिनमात्रै बाँकी रहँदा सबैभन्दा ठूलो दल सत्तारुढ  नेकपाले आफ्ना तर्फका उम्मेदवार चयन गर्न पार्टी कमिटिमा अहिलेसम्म औपचारिक छलफल चलाएको छैन ।

आज बिहीबार बस्ने सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारबारे छलफल हुने नेकपाका महासचिव विष्णु पौडेलले जनाकारी दिए । तर सत्तारुढ  नेकपाले तल्ला तहका कमिटीलाई वेवास्ता गर्दै सचिवालय बैठकले नै राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको छनोट गर्न थालेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

उनीहरुले पुस पहिलो साता सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनविपरित ‘निर्णय एकातिर, व्यवहार अर्कोतिर’ हुन लागेको भनेर असन्तुष्टि जनाएका हुन् ।

निर्वाचन आयोगले तोकेअनुसार माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते दिउँसो ३ बजेभित्र उम्मेदवार मनोनयन दर्ता गरिसक्नुपर्नेछ । सो दिन सातै प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि आयोगमा दर्ता भएका दलहरुले उम्मेदवारी दिनेछन् । तर उम्मेदवारी दिने केही दिनअघि सम्म पनि नेकपाले मातहतका आफ्ना पार्टी कमिटीलाई उम्मेदवारका लागि नाम सिफारिस गर्न कुनै सर्कुलर वा निर्देशन नपठाएर केन्द्रबाटै निर्णय गर्ने तयारी गरेर सामान्य लोकतान्त्रिक प्रकृया अपनाउन समेत कन्जुस्याई गरेको नेताहरुको गुनासो छ ।

पार्टी कमिटीबाट सिफारिस मगाएर सचिवालयले निर्णय गर्नुपर्नेमा त्यसो नगरी सिधै सचिवालयले नाम टुङगो लगाएर चल्दै आएको विधि, प्रकृया र पद्धतिको खिल्ली उडाउन लागिएको छ ।

प्रतिक्रिया