मनोरन्जना दिने नाममा पैसा असुल्न व्यस्त आयोजकहरुले सावधानी र सतर्कता नअपनाउदा लेखनाथमा आयोजित १६ औं लेखनाथ महोत्सवमा शनिवार ठुलो दुर्घटना हुनबाट बच्यो।
महोत्सबको आकर्षण मानिने बाल उद्यान तर्फको पिङ झण्डै २० मिनेटसम्म अड्किदा ठुलो दुर्घटनाबाट जोगिएको छ । झण्डै ३० फिटको उचाईमा १६ जना दर्शक चढेको पिङ उल्टो अड्किदा केही समय तनाव र रुवाबासी चलेको थियो। २० मिनेटसम्म उल्टो रहेको पिङलाई डोरीको सहायताबाट तल झारेर फसेका १६ जनाको उद्धार गरिएको थियो । विग्रिएको पिङ अहिले बन्द गरिएको छ ।

उद्धार पछि स्वास्थ्यमा समस्या देखिएका १० जनालाई उपचारका लागि लेखनाथको बुढि बजारमा रहेको लेखनाथ सिटी अस्पताल र सामुदायिक लायन्स अस्पतालमा उपचार गरिएको छ । ति मध्ये अस्मिता क्षेत्री र शिक्षा अधिकारीको उपचार भैरहेको छ भने अन्य उपचार पछि घर फर्किएका छन् । कबिता आले, अनिता तिमिल्सीना, सन्तोषी तिमिल्सीना, प्रकाश पौडेल संजिव मरासिनी, सुस्मिता श्रेष्ठ, संञ्जीब श्रेष्ठ र गोविन्द श्रेष्ठ सामान्य उपचार पछि घर फर्किएका छन् ।
महोत्सव स्थलमा जोखिम व्यवस्थापनको तयारी नपुगेको भन्दै केही बेर दर्शकहरुले बालउद्यान क्षेत्रमा आक्रोस समेत पोखेका थिए । पिङमा रहेका पोखरा २९ का प्रकाश पौडेलले थप केही समय उद्धार हुन नसकेको भए ठुलै दुर्घटना हुने बताए । उनले शुरुमा त पिङ रोकिएको होला भनेर मजाक गरीरहेको तर समय लामै भएपछि पिङमा रहेका सवै आत्तिएर रुन करान थालेको बताए । बालउद्यान, स्टेज, तथा स्टल सहितका स्थानमा थप सावधानी अपनाउन र तुरुन्त रेस्क्यू हुने गरी तयारी अवस्थामा राख्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन् ।