बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तरगतका पांच जना नेता तथा कार्यकर्तालाई आज सर्बोच्च अदालतले छाड्न बाध्यकारी आदेश दिएपछि हिरासतमुक्त भएका छन्।
कुनै एक जिल्लामा गिरफ्तार गरेर मुद्दा चलाउने, त्यस मुद्दामा छाड्ने न्यायिक आदेश भएपछी प्रहरीले फेरी गिरफ्तार गरेर विभिन्न जिल्ला घुमाएर अभद्र ब्यबहार र राज्यविरुद्धको कसुर मुद्दा लगाउने प्रबृत्ति बढेपछि आज सर्बोच्च अदालतले राजनीतिक आस्था राखेकै आधारमा उनीहरुलाई गिरफ्तार गरिएको ठहर गर्दै हिरासतमुक्त गर्न आदेश दिएको थियो।
सर्बोच्च अदालतको आदेशले आज बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्लाका तात्कालिन जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी ‘आक्रोश’, सदस्यद्वय मिलन राई र काजी गुरुङ तथा स्याङ्गजा जिल्लाका तात्कालिन सेक्रेटरी गोकुल पराजुली र मजदुर नेता अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली ‘सबिन’लाई प्रहरीले हिरासतमुक्त गरेको हो।
नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्लाका तात्कालिन जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी ‘आक्रोश’, सदस्यद्वय मिलन राई र काजी गुरुङको तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतका माननीय न्यायाधिश इश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी समेतको संयुक्त इजलाशले उनीहरुलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो भने स्याङ्गजा जिल्लाका तात्कालिन सेक्रेटरी गोकुल पराजुली र मजदुर नेता गोबिन्द ओली ‘सबिन’को तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतका माननीय न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगाना समेतको संयुक्त इजलाशले उनीहरुलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो।
ती दुवै मुद्दामा पिडितहरुकोतर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवाक्तात्रय कपिल्चान्द्र पोख्रेल, दयाराम पोख्रेल र सन्तोष कोइरालाले बहस गरेका थिए।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो। त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले अहिलेसम्म ९ जिल्ला पुर्याएको थियोे र अहिले अदालतको बाध्यकारी अादेशमा अाज रिहा भएका छन् ।

गएको जेठ २५ गते स्याङ्गजाबाट गिरफ्तार गरिएका तात्कालिन जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर नेता गोबिन्द ओलीलाई प्रहरीले, कास्की, लमजुङ्ग, तनहुँ, गोर्खा लगायतका जिल्ला घुमाएर मुद्दा चलाएको थियो।