पार्टी एकीकरण भए पनि सत्तारुढ नेकपामा भावनात्मक एकता भएको देखिएको छैन। सत्तारुढ नेकपा अझै पनि पूर्वएमाले र पूर्वमाओवादी गरेर दुई खेमामा विभाजित छ। यही खेमागत टकरावककारण सत्तारुढ नेकपामा भावी सभामुख कसलाई बनाउने भनेर किचलो निस्किएको छ।
निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्व माओवादीको तर्फबाट भएकाले आगामी सभामुख पनि पुर्व माओवादीबाट नै हुनुपर्ने जिकिर आफु कार्यकारी अध्यक्ष भएको दाबी गर्ने पुष्पकमल दाहालले जिकिर गरिरहेका छन्। तर सरकारको नेतृत्व गरिरहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले उनको प्रस्तावलाई स्वीकार गरिरहेका छैनन्। अद्यापि दाहालले आगामी सभामुख आफ्नो खेमाबाट कसलाई बनाउने भन्ने बारेमा केही बोलेका छैनन्।
नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । स्रोतले भन्यो- सभामुखमा दुई अध्यक्षबीच कुरा मिलिसकेको छैन । प्रचण्डले सभामुख आफुले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने अडान राखिरहेका छन्। तर प्रधानमन्त्री ओली चाहिँ अबको संसद झनै पेचिलो बन्ने भएकाले सुवास नेम्वाङलाई बनाउन चाहन्छन ।
पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् । नेताहरुले दुई अध्यक्षबीच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् ।
यसैबीच सभामुख चयनको मिति नजिकिदै जाँदा सत्तारुढ नेकपामा सभामुखको छलफल साँघुरिदै गएको छ। प्रचण्डले अग्नि सापकोटाको नाम अघि सार्ने अनुमान गरिएको छ । प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाड्न दबाब छ। सभामुख पनि छाडेको खण्डमा प्रचण्डबाट पूर्वमाओवादीहरुको संरक्षण हुन सक्दैन भन्ने मनोवैज्ञानिक सन्देश पुर्व माओवादीहरुमा छ । ओली पक्षले भने पार्टी एक भइसकेको अवस्थामा पूर्वसमूह भनेर भागबण्डा नहुने बताइरहेको छ ।
नेकपा स्रोतका अनुसार सभामुखका अर्का दाबेदार देव गुरुङले केही नेतालाई भेटेर नेम्वाङ हुने हो भने आफूले केही नबोल्ने तर अरुको नाम आउँदा दाबी कायमै रहने बताएका छन् । गुरुङ नेकपाभित्र रामबहादुर थापा ‘बादल’ समूहका हुन् । उनी हाल नेकपा संसदीय दलको प्रमुख सचेतक छन् ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफू सभामुखको प्रमुख दाबेदार रहेको बताएकी छन् । उनले यही अडान कायम राखेर अहिलेसम्म राजीनामा दिएकी छ्रैनन् । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघि नै आफू निकास दिन तयार रहेको भन्दै उनले त्यसभन्दा पहिला पार्टीले आफूलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्नुपर्ने बताएकी छन् ।