गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा आगामी पुस २१ गतेदेखि हुने भनिएको चीन भ्रमण टोलीमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई सहभागी गराउन सरकारले अस्वीकार गरेको छ।
केही सातापछि नै अवकाश प्राप्त गर्न लागेका आईजीपी खनाललाई गृहमन्त्री थापा नेतृत्वको भ्रमण टोलीमा सहभागी गराउन सरकारले अस्वीकार गर्दै आईजीपी खनालको चीन भ्रमण अस्वीकृत गरेको हो। अद्यापि गृहमन्त्रालयले भने मन्त्री थापासँगै आईजीपी खनालको नाम पनि भ्रमण टोलीमा सहभागिताका लागि पठाएको थियो। अब सो भ्रमण टोलीमा नेपाल प्रहरीको तर्फबाट एक जना नायब महानिरीक्षक (डिआईजी)ले नेतृत्व गर्नेछन। गृहमन्त्री थापा नेतृत्वमा हुने सो भ्रमण टोलीमा जान उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने मन्त्री परिषद बैठकले अनुमोदन गरेको छ।
यसैबीच एकै पटक १ सय २२ चिनियाँ नागरिक पक्राउको केही समयलगत्तै गृहमन्त्री थापासहितको उच्चस्तरीय सुरक्षा टोलीको भ्रमणको अर्थपूर्ण रुपमा हेरिएको छ। थापा चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।
नेपाल बसेर चीनमा अपराध गरेको आरोपमा सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकलाई सरकारले फिर्ता गर्ने तयारीसमेत थालेको स्रोतको भनाइ छ। तर, यस विषयमा सरकारले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।