संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाइदिने भन्दै रकम असूली गरेको आरोपमा लागेपछि नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत नेपाली सेनाका सेनानी (मेजर) सुवास थापालाई नेपाली सेनाले गिरफ्तार गरि सैनिक हिरासतमा राखेको छ।
मेजर थापाविरुद्ध १२ जनाले सैनिक मुख्यालयमा उजुरी दिएपछि एक हप्ता लामो छानबिनपश्चात विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई गिरफ्तार गरी उनीमाथि अनुसन्धान सुरु गरिएको जंगीअड्डाले जनाएको छ । शान्ति सेनामा पठाइदिने भनेर थापाले उजुरी दिनेहरुसँग करिब ७० लाख रुपैयाँ उठाइसकेको दाबी गरिएको छ । पूर्वसैनिक कर्मचारीबाट पनि उनले रकम लिएको जनाइएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको आफ्नै मान्छे भएको बताउँदै उनले रकम लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । ‘आफ्नै काका हो, अहिले मैले जे भन्यो त्यही हुन्छ भनेर पैसा लिएको थियो’, पीडितको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
तर शान्ति सेनामा जानेको सूचीमा नाम नपरेपछि पीडितले रकम फिर्ता माग गरेका थिए । थापाले रकम फिर्ता नदिई उल्टै धम्क्याएको पीडितको गुनासो छ ।
यसैबीच जंगीअड्डाले भने शान्ति सेनामा जान भनसुन नचल्ने जनाउँदै सैनिक कर्मचारीलाई प्रलोभनमा नपर्न सचेत गराएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति सेना छनोट कार्यविधि २०७५ लागू गराएपछि ज्येष्ठताको आधारमा शान्ति सेनामा पठाउने अभ्यास थालिएको जनाउँदै भनसुन नचल्ने सेनाले बताएको हो ।
सेनाले वहालवाला तथा अवकाश प्राप्त रथीलाई दिइएको सहुलियत कोटालाई पनि बन्द गराएको छ भने अन्य दर्जाको सहभागितालाई पनि बढाएको छ ।