सवारी चालकले मादक पदार्थ सेवन गरेको छ कि छैन, सवारी चालक अनुमति पत्र साथमा छ कि छैन भनेर जांच गर्नुपर्ने प्रहरी नै मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएको भेटिए पछि कास्की प्रहरीले दुई जना प्रहरी हवल्दारहरुलाई कारवाही गरेको छ। ती दुईमध्ये एकको जागीर चट भएको छ भने अर्का एकको पद घटुवा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, क्सी पिएर ड्युटीमा खटिएको पटकपटक गुनासो तथा उजुरी आएपछि वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी हवल्दार राजकुमार कार्कीलाई बर्खास्त नै गरिएको छ भने इलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाँडाकोनाकमा कार्यरत प्रहरी हवल्दार भीमबहादुर यादवको पद घटुवा गरेर प्रहरी जवान बनाइएको छ।
गएको पुस गते पोखरा माहानागरको लेखनाथ तालचोकमा ट्राफिक प्रहरी चेकिङ्ग भैरहेका बेला मादक पदार्थ सेवन गरेका प्रहरी हवल्दार भीमबहादुर यादवले एक जना मोटरसाइकल चालकलाई रोकेर ‘ हा…’ गर्न भने । जाँच गर्न लागेका प्रहरीको मुखबाटै ह्वास्स रक्सी गन्हाएका ती प्रहरी हवल्दार यादव र ती सवारी चालकबीच भनाभन भएपछी स्थानिय जनताले ती प्रहरी हवल्दारलाई समातेर प्रहरी कार्यालयमा बुझाएका थिए । तिनै प्रहरी हवल्दार यादवलाई कास्की प्रहरीले एक तह घटुवा गरेको हो ।