पार्टीविरुद्ध सुराकी गरेको र भ्रस्टाचारमा लिप्त भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको भनिएका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही १३ घण्टा पछि मुक्त भएका छन्।
शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला बिप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ताहरुले ‘सोधपुछ गर्नुछ’ भन्दै लगेका थिए। उनलाई साँझ करीब ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्रबाट अब आइन्दा त्यस्तो कार्य नगर्ने शर्तमा सम्झाई बुझाई गरी छाडिएको ने.क.पा. स्रोतले जानकारी दिएको छ। पार्टीविरुद्ध सुराकी गरेको र भ्रस्टाचारमा लिप्त भएको भन्ने आरोप सम्बन्धमा थप छानविन चलिरहेको ने.क.पा. स्रोतले आफ्नो नियन्त्रणमा रहेका बेला गाउँपालिका अध्यक्ष शाहीले आफ्नो गल्ती स्वीकार्दै अब आइन्दा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। तर सरकारी पक्षले उनको उद्धारको बारेमा आफ्नो फरक धारणा सार्वजनिक गरेको छ।
प्रहरीले गाउँपालिका अध्यक्ष शाहीको अपहरण गरेर कालिकोटतिर लगिएको सूचना पाएको प्रहरीले खोजतलाश गर्दै जाँदा कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्रबाट अपहरणमुक्त गरिएको प्रहरीको दाबी छ। खोजतलास गर्ने क्रममा रहेका सशस्त्र तथा नेपाल प्रहरीको टोलीले फायरिंग गरेपछि ने.क.पा.का कार्यकर्ताले अध्यक्ष शाहीलाई छाडेर भागेको प्रहरीको भनाई छ।