नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको ने.क.पा.लाई प्रतिबन्ध लगाएपछि सरकारी संयन्त्र सो पार्टीका नेता तथा कार्यकर्तामाथि क्रुर बन्न थालेका छन्। प्रहरीले त्यस पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने क्रम तिब्र बनाएको त छ नै , गिरफ्तारीमा परेका नेता तथा कार्यकर्तालाई हिरासतमा शारीरिक तथा मानसिक यातना दिने र बेपत्ता बनाउने क्रम शुरु भएको छ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको ने.क.पा.का केन्द्रीय सदस्य दिपेश राईसहित दुईजना नेता उदयपुरबाट गिरफ्तारीमा परेका छन्।
जिल्लाको कटारी नगरपालिका–६ रिस्कुबाट माओवादी जनयुद्धका ब्रिगेड कमाण्डर समेत रहेका दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ। गिरफ्तार गरेर दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको छ।
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई गिरफ्तार गरिएकोमा राज्यले स्वेत आतंक मच्चाएको आरोप लगाएको छ।
उनीहरुको गिरफ्तारीपछी सगरमाथा ब्यूरो इन्चार्ज अनुभव क्रान्तिले एक विज्ञप्ति निकाल्दै राज्यले आतंक नरोके देश हिंसातिर जाने चेतावनी दिएका छन् ।
‘केपी ओली नेतृत्वको सरकारले जनताका घरघरमा पसेर आतंक मच्चाइरहेको छ। यही आतंकका क्रममा हाम्रा दुई नेताको गैरकानुनी गिरफ्तारी गरिएको छ’,विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ परेका सबै बन्दीहरुलाई रिहा नगरे देश थप झडप र हिंसातिर जानेछ। यो अवस्थाको जिम्मेवार स्वयम् ओली नेतृत्वको सरकार हुनेछ।’
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, उच्च अदालत सुर्खेतको आदेशले हिरासतमुक्त भएका बिद्यार्थी नेता प्रकाश शाहीलाई प्रहरीले बेपत्ता बनाएको छ भने बाँकेको कोहलपुरबाट पक्राउ परेका नेकपाका जिल्ला इन्चार्ज प्रेमप्रकाश वली धमिललाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा अभद्र ब्यवहार गरिएको समाचारस्रोतले जानकारी दिएको छ।
जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका शाहीलाई उच्च अदालत सुर्खेतले गत २२ गते धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले उनलाई फेरी गिरफ्तार गरेर बेपत्ता बनाएको छ। उनका परिबारजनालाई समेत शाहीको अवस्था बारेमा जानकारी नदिएको पारिवारिकस्रोतले जानकारी दिएको छ। शाहीका परिवारले उनको स्थिति सार्वजनिक गर्नको लागी पहल गरिदिन अधिकारकर्मीलाई आग्रह गरेका छन्।
त्यस्तै बाँकेको कोहलपुरबाट गिरफ्तार गरिएका ने.क.पा. जाजरकोटका जिल्ला इन्चार्ज प्रेमप्रकाश वली धमिललाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा अभद्र ब्यवहार गरिएको छ। उनलाई प्रहरीले परिवारसँग भेट्न र सञ्चार सम्पर्क गर्न नदिएको, मानसिक यातना दिएको, ओढ्ने कपडा नदिएको र जिल्ला अदालत लैजाँदा हातको पछाडी फर्काएर अमानवीय तवरले हत्कडी लगाएर शारीरिक तथा मानसिक यातना दिइएको बताइएको छ।
यसैबीच, सरकारद्धारा प्रतिवन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानवअधिकारवादी संस्थाहरुले माग गरेका छन् । मानवअधिकारवादी संगठनहरुले संयुक्त विज्ञप्ती निकालेर यस्तो माग गरेका हुन् ।
जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका शाहीलाई उच्च अदालत सुर्खेतले गत २२ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशले रिहा गरे लगत्तै पुनः पक्राउ परेका शाहीको अवस्था अज्ञात रहेको भन्दै नेपाल मानव अधिकार संगठन, इन्सेक, एम्नेष्टी ईन्टरनेशनल, असलशासन क्लब, नागरिक समाज लगायतका संस्थाले स्थिति सार्वजनिक गर्न माग गरेका छन् भने जाजरकोट जिल्ला इन्चार्ज धमिललाई मानसिक तथा शारीरिक यातना नदिन आग्रह गरेका छन्। हिरासतभित्र शारीरिक तथा मानसिक यातना दिने कार्यहरु गैरकानुनी र गैरन्यायिक भएको भन्दै आगामी दिनमा यस्ता कार्य कसै प्रति पनि नगर्न माग गर्दछौ विज्ञप्तीमा भनिएको छ ।
हिरासतमा रहंदा आधारभूत मानवअधिकारको हुनन भएको भन्दै भोक हडताल बसेका इन्चार्ज धमिलले जिल्ला न्यायधीशको अनुरोधमा आफ्नो अनसन तोडेको घटनालाई पनि उनीहरुले स्मरण गराएका छन्। जिल्ला अदालतबाट समेत नेता धमिलमाथि गरिएको अभद्र ब्यवहार प्रति स्थानिय प्रहरी प्रशासनलाई स्पष्टिकरण सोधिएको छ।
गत बिहिवार पुर्पक्षका लागी जिल्ला कारागार चलान गरिएका नेता धमिललाई भेट्न मानवअधिकार रक्षकहरु शुक्रवार कारागार पुगेका थिए । मानव अधिकारवादीहरु समक्ष नेता धमिलले आफुलाई हिरासतभित्र शारीरिक तथा मानसिक यातना दिने गरिएको गुनासो गरेका थिए।