ह्याचरी उद्योग संघको दादागिरी : मासुको मुल्य बढाउन कानुन विपरीत ३० लाख चल्ला खाल्डोमा गाडिए

ह्याचरी उद्योग संघको दादागिरी : मासुको मुल्य बढाउन कानुन विपरीत ३० लाख चल्ला खाल्डोमा गाडिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ पुष २०७६
  • 5.9K
    Shares

कुखुराको चल्ला नष्ट गरिदै

मुलुकी ऐनमा कुनै पनि पशुपन्छीलाई यातना दिएर मार्न नपाइने कानूनी व्यवस्था छ। पशुपन्छीलाई यातना दिएर मारेमा तीन महिना कैद वा ५० हजारसम्म जरिबाना गराउने व्यवस्था छ।   तर मासुको मूल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले करीब ३५ करोड रुपियाँ मुल्यका कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेर मारिसकेको छ।

संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ। संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन्।

नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले ह्याचरी संघले किसानसँग सल्लाह नगरी चल्ला नष्ट गरिरहेको बताए। उनले ह्याचरी संघ, दाना उत्पादक संघ र कुखुरा व्यवसायी संघ मिलेर मूल्य निर्धारण गरी किसानलाई लागत मूल्यभन्दा कम मूल्य उपलब्ध गराएको आरोप लगाए । उनले ‘संघले गरेको यो निर्णय अत्यन्त निन्दनीय र क्रुर रहेको ” भन्दै  “व्यवसायिक लाभ लिनका लागि जिउँदो चल्ला मार्नु खेदजनक रहेको ” टिप्पणी गरे ।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ। यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन्। यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन्। संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेको छ।

मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेको संघले जनाएको छ। संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले कुखुरा व्यवसाय व्यवस्थित गर्न तथा किसानलाई लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरिएको बताए। उनका अनुसार चल्ला नष्ट गर्ने अभियान एक सातासम्म जारी रहनेछ।

संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगलाई पनि बाध्य पारेको छ। निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अण्डा नष्ट गर्दै आएका छन्।

अध्यक्ष पोखरेलका अनुसार बजारमा एक सातामा ३० लाख चल्ला माग हुन्छ। तर ४५ लाख चल्ला उत्पादन भइरहेको छ। १० दिनमा ६० लाख चल्ला उत्पादन हुन्छ। ६० लाख चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ। मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघको छ। लेयर्स, ब्रोइलर र कोइलर जातका चल्ला उत्पादन गर्ने ह्याचरी देशभर तीन सय छन्।

 

 

प्रतिक्रिया