गुठी संस्थानका प्रमुख प्रशासक चौधरी तेस्रो पटक घुस रकमसहित पक्राउ

गुठी संस्थानका प्रमुख प्रशासक चौधरी तेस्रो पटक घुस रकमसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ पुष २०७६
  • 4.9K
    Shares

नारायण चौधरी

गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार संस्थानको केन्द्रिय कार्यालयबाटै पक्राउ गरेको छ।

जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अख्तियारले उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरिरहेको थियो।

काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यी दुईमध्ये चौधरी तेस्रो पटक अख्तियारको फन्दामा परेका हुन् । यसअघि विराटनगरस्थित ९ नम्बर नापी गोश्वारा प्रमुख हुँदा पनि पक्राउ परेका उनी निलम्वनमा परेका थिए ।

चौधरी सुकुम्बासी समस्या समाधान आयोगको सदस्य सचिव हुँदा पनि सरकारी जग्गा आफ्ना भाई सत्यनारायण र सालो विनोदकुमार देवको नाममा दर्ता गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई मोरङको साविक बडहरी गाविस– ९ को कित्ता नम्बर ५४९ (च) को जग्गा सालो र मोरङ साविक जतुवा– १ को कित्ता नम्बर २१८८ (क) को दुई कठ्ठा जग्गा भाईको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो ।

काठमाडौंको बसुन्धरास्थित ६ नम्बर नापी गोश्वारा कार्यालयको प्रमुख हुँदा पनि चौधरी विवादमा तानिएका थिए । उनले गोगनपानी– ४, दैलेखको कित्ता नम्बर ९६ को १७ हजार ३०० वर्गमिटर जग्गा व्यक्तिको नाममा पारेको भूमि सुधार मन्त्रालयको अनुसन्धानले देखाएको थियो । मन्त्रालयले उनलाई दोषी ठहर गर्दै २०६८ असार २१ गते कानूनी कारवाही गर्न नापी विभागलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया