बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् । उनलाई आज बिशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले सफाई दिएको हो।
पछिल्लो समय उनीले आफूलाई गृह सचिव प्रेमकुमार राईको मान्छे भएको बताउँदै आएका थिए । २०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला डिएसपी राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।
आयोगले गरेको अनुसन्धानका क्रममा राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेस माग गरेका थिए । नदिए व्यवसाय चौपट पारिदिने धम्की दिएका थिए । त्यसवातपको रकम लिँदै गर्दा उनी समातिएका थिए ।
यसअघि पनि विभिन्न कार्यालयमा रहँदा घुस लेनदेन गर्ने गरेको विषयमा प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म उनीविरुद्ध उजुरी गर्ने गरेको थियो । तर, उनी जोगिँदै आएका थिए ।
राईले भने आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको बताउँदै आएपनि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको थियो।