सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरुलाई गुपचुप तरीकाले जिम्मेवारीबाट हटाइएको छ ।
विद्यार्थीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि सैनिक आवासीय महाविद्यालयले प्रिन्सिपल पनेरुलाई जिम्मेवारीबाट हटाएका हो ।। तर, नेपाली सेनाले यो विषयलाई गुपचुप राखेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्रोतले प्रिन्सिपल पनेरुलाई पदमुक्त गरेको पुस्टि गरे पनि कारण भने स्पस्ट गर्न चाहेन।
सैनिक स्रोतका अनुसार मंसिर १३ गते विद्यालयको मुखपत्र ‘सल्लाघारी’का लागि फोटो खिच्ने क्रममा पनेरुले कक्षा १२ मा पढ्न छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । त्यससम्बन्धमा विद्यालय व्यवस्थापन समितिले छानबिन गरिरहेको छ । पीडितले भने हालसम्म घटनाबारे प्रहरीमा लिखित वा मौखिक उजुरी दिएका छैनन् । घटनाबाहिर ल्याउन नदिन दबाब दिइएकाले उजुरी नपरेको स्रोतको दाबी छ ।
साढे दुई वर्षदेखि प्रिन्सिपलका रुपमा कार्यरत पनेरुले भने आफूलाई गलत आरोप लगाइएको बोर्डका सदस्यहरुसँग दाबी गरेका छन् । उनले सैनिक आवासीय महाबिद्यालय छाडेको स्वीकार गरे पनि छात्रामाथि यौन दुर्ब्यबहार गरेको आरोप बारे स्पस्ट जवाफ दिएनन।
यसअघि विद्यार्थी भर्नाका लागि सञ्चालन भएको प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको पुष्टि भएपछि गत वैशाख १० गते सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई पनि बर्खास्त गरेको थियो ।