सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शार्मा ओली र पुष्पकमल दाहालले आफुहरुमा कही कमजोरी देखिनुका साथी बिचलनको संकेत देखिएको स्वीकार गरेका छन्।
आइतबारदेखि बसेको स्थायी कमिटि बैठकमा स्थायी कमिटि बैठक एक बर्षसम्म हुन नसक्नुको कारण माग भएपछी उनीहरुले यस्तो स्वीकार गरेका हुन्। पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। वैठक सुरु हुनासाथ नेकपा स्थायी समिति सदस्य भीम रावलले एक वर्षसम्म स्थायी समितिको वैठक नहुनुको कारण माग गरेका थिए।
अध्यक्ष पुष्पकमल दाहालले तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका थिए छन्। एक वर्षसम्म बैठक बस्न नसक्नु स्थायी समितिसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता र मर्मविपरीत हुन पुगेको अध्यक्षद्वयले प्रतिवेदनमा उल्लेख गरेका छन्। यसलाई अध्यक्षद्वयले कमजोरी र विचलनको संकेतका रूपमा आत्मसमीक्षा गर्दै कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘स्थायी समितिका दुई बैठकका बीचमा यो लामो अन्तराल, प्रत्येक तीन महिनाभित्र बैठक बस्नै पर्ने आफ्नै निर्णय एवं स्थायी समितिसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता र मर्मसमेतका विपरीत हुन गएको छ’, प्रतिवेदनमा लेखिएको छ।
बैठकमा प्रस्तुत संयुक्त प्रतिबेदनमा सरकारले जनताको पक्षमा काम गर्न खोजेपनि सोचे जति प्रगति गर्न नसकेको स्वीकार गरिएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षाका सवालमा भने गम्भीर प्रश्न उठाइएको छ। ‘सरकारको प्रयास भइरहे पनि खास प्रगतिको अनुभूति नभएको जनगुनासो स्थानीय स्तरदेखि केन्द्रसम्म सुनिन्छ’, प्रतिवेदनमा छ, ‘अतः सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण अझ प्रभावकारी कदम चाल्न आवश्यक छ।’
नेकपाले पार्टी संगठन अन्योलग्रस्त रहेको भन्दै संस्थागत नभएको स्वीकार गरेको छ। पार्टीभित्र घात, अन्तर्घात र अराजकताको प्रवृत्ति बढिरहेको प्रतिवेदनमा उल्लेख छ। अनुशासनको स्तर दयनीय अवस्थामा पुगेको र पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा बढ्दै गएको ओली र दाहालले औंल्याएका छन्।
‘पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको छ। पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुटहरू झाँगिँदै जान थालेका छन्। पार्टीभित्र घात, अन्र्तघात र अराजकताका प्रवृत्ति बढिरहेका छन्’, प्रतिवेदनमा भनिएको छ।
उपनिर्वाचन पार्टीका लागि उत्साहप्रद नरहेको समीक्षा नेकपाले गरेको छ। विगतमा आफूले जितेको एक प्रदेशसभा, एक उपमहानगरपालिकालगायतमा बेहोरेको हारलाई गम्भीर रूपमा लिइएको नेकपाले जनाएको छ। धरान उपमहानगरपालिका र चितवनको भरतपुर महाननगरपालिका–१६ को पराजयलाई उसले गम्भीर धक्का भनेको छ। भक्तपुरको प्रदेशसभा १ को (क) को पराजयलाई कांग्रेस–राप्रपा गठबन्धनको परिणाम भनेको छ।
‘स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाको पराजय र भरतपुर महानगरपालिकाको १६ नम्बर वडामा भएको पराजयले हाम्रो पार्टीलाई विशेष धक्का दिएको छ’, प्रतिवेदनमा छ, ‘२०७४ को निर्वाचनमा स्थानीय तहमा तत्कालीन एमाले र माओवादी आपसमा प्रतिस्पर्धा गरेको अवस्था थियो। अहिले पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्नुपर्ने थियो। त्यसमाथि प्रदेशसभाकै एक स्थान पनि हाम्रो हातबाट गुम्नुले परिणामलाई गम्भीरतापूर्वक लिनुपर्ने बनाएको छ।’
नेपालको भूमि भारतले आफ्नो राजनीतिक नक्सामा राख्नु सह्य नहुने नेकपाले बताएको छ। ‘भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपुलेक र सीमा नदी महाकालीको महान लिम्पियाधुरालाई समेत आफ्नो भूभागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असह्य भएको तथ्य प्रकट भई नै सकेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी, सरकार र आमनेपाली जनताले तत्काल राजनीतिक र कूटनीतिक संवादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ। हाम्रो पार्टी र सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदीपूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ।’
प्रतिवेदन सात उपशीर्षकमा समेटिएको छ। अन्तर्राष्ट्रिय परिस्थितिका संकेत र हाम्रो दायित्व, राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्ध, पार्टी एकता सुदृढ गर्ने सम्बन्ध, सरकारका कामहरूको सामान्य समीक्षा, उपचुनावको समीक्षा, सचिवालयले गरेका निर्णयहरूको अनुमोदनसम्बन्धी प्रस्ताव र पार्टीका आगामी कार्यक्रमको रूपरेखामा केन्द्रित प्रतिवेदन बैठकमा आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।