आफ्नो साथीको दुर्घटनामा मृत्यु भएपछी दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलन गरिरहेका स-साना स्कुले बिद्यार्थीहरुलाई प्रहरीले दुर्ब्यबहार गर्न खोजेपछि बिद्यार्थीहरुले प्रहरीको प्रतिबाद गरेका छन्।
बिद्यार्थीहरुले गरेको प्रतिवादका क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । अहिले कोहलपुर तनाबग्रस्त बनेको छ।
कडा प्रदर्शनमा उत्रिएका स्कुले बालबालिकालाई लक्ष्यित गर्दै प्रहरीले हवाई फायर र अश्रु ग्याँस हानिरहेको छ। स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।
आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर –१० की प्रकृति चन्दको मृत्यु भएको थियो । स्कुले बालिकाको मृत्यु भएपछि आक्रोशित विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।

प्रहरीले हवाई फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन्। अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा आएका छन्। आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् ।
स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन् । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।
यसैबीच, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था बिग्रिरहेको भन्दै कर्फ्यू लगाउने अवस्थामा पुगेको बताए ।