मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै बुढीगण्डकी जलबिद्युत आयोजना डुवान प्रभावित स्थानीय बासिन्दाले आज बिहान १० बजे आरुघाट गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् ।
सरकारले आइतबार निर्धारण गरेको मुआब्जामा असन्तुष्टि जनाउँदै आरुघाटका प्रभावितले सोमबार दिउसोबाट बजार बन्द गराएका छन्। सोमबार साझ राके जुलुस निकालेर मुआब्जा स्थानीयले बिरोध जनाए। मंगलबार बिहानैदेखि आरुघाट बजार बन्द छ भने बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय बन्द छन्। सार्वजनिक र नीजि सवारी साधनसमेत स्थानीयले चल्न दिएका छैनन्।
लामो रस्साकस्सी बुढीगण्डकी डुबान क्षेत्र अन्तर्गत बजार क्षेत्रको मुआब्जा निर्धारण आइतबार राती भएको थियो। आरुघाट र आर्खेत तथा धादिङको खहरमो जग्गाको मुआब्जा सोमबार बिहान सार्वजनिक गरिएको थियो। त्यस क्षेत्रका जग्गालाई बर्गिकरण गरि आनाको न्यूनतम ५० हजार देखि अधिकतम सात लाख सम्म मुआब्जा निर्धारण गरिएको छ। प्रभावितले भने आनाको २५ लाख रुपैंया पाउनुपर्ने माग राख्दै आएका थिए।
मुआब्जा पुनरावलोकन नभए जग्गा फुकुवा गर्नु पर्ने प्रभावितको माग छ। सरकारले तोकेको मुल्यमा आफूहरले जग्गा दिन नसक्ने उनीहरुको अडान छ ।