अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवत: यो पहिलो घटना हो ।
सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ । उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न विभागले पत्राचार गरेको समाचारस्रोतले जानकारी दिएको छ।
प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावसायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको अनुसन्धानले पुष्टि गरिसकेको छ । रोकाको लगानी रहेको म्यानपावर कम्पनी र एक सहकारीमार्फत बस्न्यातले आफ्नो अकुत सम्पत्ति आर्जन व्यवस्थापन गरेको जानकार स्रोतको दाबी छ ।
बस्न्यातका परिवारका सदस्यको नाममा रहेको उक्त बैंक्वेटले अस्वाभाविक रूपमा ठूलो आम्दानी गरेको देखाइएको छ । ‘बूढानीलकण्ठमा २ रोपनी जग्गा खरिद गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘बत्तीसपुतलीको घरमा भूकम्पपछि चार आना जग्गा पनि जोडेका छन् । यो सबै उनी अख्तियारमा आयुक्त भइसकेपछि आर्जित रकमबाट जोडिएको हो भन्ने निष्कर्ष छ ।’
बस्न्यातले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये केही भारततर्फ स्थानान्तरण गरिसकेको हुन सक्ने अनुमान छ । विभागले अनुसन्धान अगाडि बढाएसँगै बस्न्यातको भारत आउजाउ बढेकाले अब थप रकम नसारियोस् भनेर सम्पत्ति रोक्का गर्नुपरेको स्रोतको दाबी छ ।
सरकारी सेवामा रहँदा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको मामिलामा मात्रै केन्द्रित रहेर यसअघि उनी आफैं प्रमुख रहेको अख्तियारले समेत छुट्टै छानबिन गरिरहेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बस्न्यातले फर्जी मोहीका नाममा बालुवाटार, ललिता निवासको विवादित जग्गा हस्तान्तरण गर्न भूमिका खेलेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गर्ने निश्चित भइसकेको छ ।
०७४ जेठमा अख्तियार प्रमुख भएका बस्न्यातले त्यसै वर्षको माघ २९ मा अवकाश पाए । त्यही अवधिमा उनले अकुत सम्पत्ति आर्जन गरेको हालको अनुसन्धानबाट देखिएको छ ।
बस्न्यात प्रमुख आयुक्त हुदा आयुक्त रहेका राजनारायण पाठकले घूस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ।