मन्त्रालयमा काम गर्ने वातावरण नभएको जनाउँदै लामो समयदेखि असन्तुष्ट रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी रहँदै गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ।
उनको राजीनामा भने कार्तिक १७ गतेको मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको छ। राजीनामा अस्वीकृत भएपनि सचिव चौधरी कार्यालय गएकी छैनन्। सचिव डा.चौधरीको मोबाइल स्वीच अफ रहेको छ। उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिरका लागि निवेदन दिएर त्यसैको तयारीमा लागेको समाचार स्रोतले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रालयमा आएदेखि नै स्वास्थ्य सचिव डा.चौधरीसँग खटपट भएको थियो।
मन्त्रालयमा दुई सचिव राख्ने व्यवस्था भएपछि सचिव डा.चौधरीलाई डेढ वर्षअघि सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। सो सरुवाकाबिरुद्ध सर्वोच्च अदालत पुगेकी सचिव चौधरीलाई ०७५ असोज ८ गते सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय बदर गर्दै सरुवा र रमाना लगायतका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी पदमा बहाल रहेकी थिइन्।