चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर झा पक्राउ

चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर झा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० मंसिर २०७६
  • 4K
    Shares

चेकजाँच गर्न आएकी विरामी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झालाई प्रहरीले पक्राउ गरेको छ।

‘होलबडी चेकअप’ गर्न अस्पताल पुगेकी कीर्तिपुरकी ३० वर्षीया कमला (परिवर्तित नाम)लाई चेकअप गर्ने क्रममा डाक्टर झाले वलात्कार प्रयास आरोप प्रहरीले लगाएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर, ललितपुर, जाउलाखेलमा राखिएको छ।

सहयोगी महिला नभएको बेला आइतबार नियमित परीक्षणकै लागि मेडिसिटी अस्पताल पुगेकी ती महिलाले लगेको रिपोर्ट हेर्दै यौन दुर्ब्यबहार गर्न शुरु गरेका थिए। डा. झाले ती महिलाको शारीरिक परिक्षण गर्ने नाममा आफ्नो संबेदनशील अंगमा समेत हात पुर्‍याएको पीडितले बताएकी छन् ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार उनीविरुद्ध दुई मुद्दा आकर्षित हुनसक्ने अवस्था छ । मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम जबरजस्तीकरणी उद्योग र दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसूरमा मुद्दा चल्न सक्छ ।

पहिलो कसूरमा १८ वर्षभन्दा बढी उमेरकी महिला भएकाले ७ देखि १० वर्ष कैद सजाय हुनसक्छ । तर, दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुने भनिएको छ । यस अनुसार ३ वर्षदेखि ५ वर्षको कैद सजाय हुनसक्छ ।

दोस्रो मुद्दामा आरोप पुष्टि भए थप चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । अघिल्लो वर्ष १ भदौदेखि जारी अपराध संहिताले लिंगबाहेक अन्य वस्तु योनीमा प्रवेश गराए पनि जबरजस्ती करणी हुने मानेको छ ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि पनि कर्मचारीमाथि जबरजस्तीकरणी उद्योग गरेको आरोप लागेको छ र १९ असोजमा पक्राउ परेका उनी डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया