प्रहरीले गोरखाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनसरकार प्रमुख सहित दुई जना गिरफ्तार गरेको छ ।
गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक घर भएका गोर्खा जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई उनकै घरबाट सोमबार गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ ।
गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलका अनुसार, रिजाललाई केही समयअघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंकामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
यस्तै विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे ‘अटल’लाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले जानकारी दिए । पाण्डेविरुद्ध धादिङमा मुद्दा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, २७ दिन लामो कास्की जिल्लास्थित प्रहरी हिरासतको बसाईपछी तमुवान स्वायत्त जनसरकार प्रमुख किसान सिंह गुरुंग र २३ दिन पछि कास्की जिल्ला जनसरकार प्रमुख राम काजी गुरुंग रिहा भएका छन् ।
अब कास्की प्रहरीको हिरासतमा अखिल (क्रान्तिकारी) कास्कीकी उपाध्यक्ष आस्था नेपाली र मजदुर नेता श्याम पाण्डे रहेका छन् ।