इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका नाबालक मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीकोको रहस्मृयमय मृत्यु भएको छ । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् ।
हिरासतमा झुन्डिएर आत्महत्या गरेको दाबी प्रहरीले गरेकाे अवस्थामा हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ नै नरहेकाे मृतकका अाफन्तकाे दाबी छ । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन । मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात मेची अञ्चल अस्पताल भद्रपुर लगेर शव पोस्टमार्टम गरिएकाे पीडितपक्षकाे छ । पोस्टमार्टमपछि मात्रै किरणका बुबा रमेश कार्कीडोली दर्जीलाई प्रहरीले शव बुझ्न बोलाएको थियो ।
प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ । प्र
२९ चैतको साँझ ६ बजे किरणलाई बिर्तामोडका केही स्थानीयले मोबाइल चोरी गरेको आरोप लगाउँदै प्रहरीको जिम्मा लगाएका थिए । बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी सुवास खड्काको निर्देशनमा उनलाई हिरासतमा राखिएकाे थियो । चोरी घटना स्विकार्न लगाउन प्रहरीले कुट्दा १ वैशाखको राति हिरासतमै उनको ज्यान गएको हुनसक्ने आफन्तको अनुमान छ । किरणको मृत्युपछि अप्ठ्यारोमा पर्ने डरले प्रहरीले अभिभावकलाई समेत थाहा नदिई अस्पताल लगेर शव पोस्टमार्टम गरायो ।
घटनाको भोलिपल्ट २ वैशाख बिहान १० बजे मात्र मृत्युको खबर लिएर प्रहरी किरणका बाबु रमेशलाई खोज्दै मेचीनगर–६ स्थित घर पुगेको थियो । किरणले हिरासतमा आत्महत्या गरेको र शव अस्पताल लगेर पोस्टमार्टमसमेत गरिसकेको प्रहरीले बताएपछि रमेश सशंकित भए । प्रहरीले लुकाउन खोजेको घटना मृतकका परिवारकै कारण सार्वजनिक भएको छ ।
किरणलाई भारतीय घोषित गर्दै प्रहरीले उमेरसमेत बढायो
मोबाइल र पैसा चोरेको आरोपमा पक्राउ परेका किरणको मुद्दालाई नै अहिले प्रहरीले बदलेको छ । जिल्ला प्रहरी कार्यालयले उनी चोरीमा नभई अभद्र व्यवहारको आरोपमा पक्राउ परेको सूचना सञ्चारकर्मीलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले किरणको घर मेचीपारि भारतको पानीट्यांकी भएको र उमेर १९ वर्ष भएको डिएसपी श्रेष्ठले पठाएको सूचनामा उल्लेख छ । बिर्तामोड प्रहरीका डिएसपी सुवास खड्का भने किरणले पासो लगाएर आत्महत्या गरेको र अरू विषय बोल्न नमिल्ने भन्दै जिप्रकामा सोध्न भन्छन् ।
छोरो पक्राउ परेको नै थाहा थिएन, एकैचोटि शव बुझ्न खबर आयो : रमेश कार्कीडोली दर्जी, किरणका बाबु
घरमा त छोरो पक्राउ परेको जानकारीसम्म थिएन । एक्कासि प्रहरी घरमा आएर तपाईंको छोरो झुन्डिएर मर्यो, शव भद्रपुर अस्पतालमा छ, बुझ्न जानुपर्यो भन्दा पो छाँगाबाट खसेजस्तो भएँ । म अस्पताल गएँ । शव पोस्टमार्टम गरिसकेको रहेछ । छोराको मृत्यु कसरी भयो भन्ने प्रश्न त छँदै छ, परिवारलाई जानकारी नै नगराई पोस्टमार्टम किन गर्यो ? प्रहरीले छोरो झुन्डिएको ठाउँसम्म हामीलाई देखाएको छैन । पासो लगाएर झुन्डिएको भन्छ, तर छोराको घाँटीमा कुनै डाम नै छैन । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।