नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठक चलिरहेको हल्ला चलिरहेकै बखत सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई प्रहरीले गिरफ्तार गरेको छ ।पार्टीको जनवर्गीय संगठन इन्चार्ज समेत रहेका नेता जिवान्तलाई शुक्रबार साँझ ललितपुरबाट गिरफ्तार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनलाई आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने प्रहरीको इकाइ विशेष ब्यूरो अन्तरगतका सादा पोसाकका प्रहरीले शुक्रबार साँझ बेलुकी ८ बजेतिर गिरफ्तार गरेको जनाइएको छ ।
नेता `जीवन्त´ रक्तचाप र मधुमेहका बिरामी हुन् । हाल उनलाई कहाँ राखिएको छ भन्ने बारेमा केही खुलाईएको छैन । नेता जिवन्त यसअघि पनि बुटवलबाट काठमाडौँ आउनेक्रममा थानकोटबाट अर्का नेता कृष्ण धमला (गम्भीर)सँगै पक्राउ परेर रिहा भएका थिए ।
सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने नेताहरुमा नेता जिवन्त हलासम्मकै ठुला नेता हुन् । यसअघि पार्टी केन्द्रीय सदस्य एबम अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्दु चन्द, पार्टी केन्द्रीय सदस्य एबम अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष राजु कार्की, नेकपाका नेताहरु केदार खतीवडा, सुर्य भुजेल, खेम खड्का, देवकुमार लिम्बु लगायत देशैभरी दर्जनौँ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।