न्याय माग्दा गाउँपालिका अध्यक्ष साहले कुटेर पठाए

न्याय माग्दा गाउँपालिका अध्यक्ष साहले कुटेर पठाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ फाल्गुन २०७५
  • 7.1K
    Shares

न्याय माग्न गाउँपालिकाको कार्यालय पुगेका सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादवलाई  गाउँपालिकाका अध्यक्ष रामबल्लब साहले कुटेर पठाएका छन् ।

आफ्नो पसलमा चोरी भएको गुनासो गर्दै न्याय दिन अनुरोध गरेका शाहलाई गाउँपालिकाका अध्यक्ष साहले कुटेर पठाएका हुन्।

कुटपिटबाट घाइते भएका यादवले लहानस्थित राउ स्मारक अस्पतालमा उपचार गराएर घर फर्केका छन्। उनको अनुहार र आँखामा चोट लागेको छ।

शुक्रबार यादवले इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा निवदेन दर्ता गराएका छन्। आफुलाई अध्यक्ष साहले सुरुमा आफै हात हालेपनि पछि सहयोगीमार्फत कार्यालयबाट हात र लातले कुट्दै बाहिर निकालेको पिडित यादवको आरोप छ।

गत बुधबार(८ गते) पसल बन्द गरेर घरमा खाना खान जाँदा ५/६ जनाको समूहमा आएका चोरहरुको समुहले यादवको मदिरा पसलमा चोरी भएको थियो।  पसलमा फर्कंदा चोरी गर्दै गरेका चोरहरु भागे पनि उनले दुई जनालाई चिने । उनले यो कुरो तुरुन्त वडाअध्यक्ष धमेन्द्र रायलाई पनि दिए ।

पिडित यादवका अनुसार गाउँमै जन्ती आएकाले राति केही नगर्नु भनेर वडाअध्यक्षले फर्काए । ९ गते वडाअध्यक्ष रायले यादवलाई आफूले यस विषयमा केही गर्न नसक्ने भन्दै न्यायिक समितिमा चिठी लेखेर पठायो। १० गते न्यायिक समितिमा छलफल भै निर्णय लेख्ने लाग्दा गाउन्पालिका अध्यक्ष साहले पञ्चायतको मिति सार्न लगाए ।

छलफलका लागि बोलाइएको अर्को मिति १६ गते बिहीबार गाउँपालिकामा पुगी अध्यक्ष साहसँग जानकारी माग्दा आफूमाथि कुटपिट भएको यादवले सुनाए।

यता, गाउँपालिका अध्यक्ष साहले आफूले कुटपिट नगरेको दाबी गरेका छन्। यादवले जोडले बोल्न थालेपछि कार्यालयबाट सहयोगी लगाएर बाहिर निकालेको उनले स्वीकार गरे।

उनको पसलमा भएको यो चोरी आठौँ पटक हो। ४ वर्ष वैदेशिक रोजगारबाट कमाएको रकमले साहले व्यापार सुरु गरेका थिए। ‘सानो पुँजीबाट व्यापार सुरु गरे। चोरीले हैरान बनायो, ‘उनले भने, ‘न्याय माग्न जाँदा आफै कुटिएँ।’

प्रतिक्रिया