दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप दार्चुला-तिंकर सडकखण्डको दुहु गाउँपालिका-३ राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।
दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार, दार्चुला सदरमुकाम खलंगाबाट उत्तरपश्चिमी क्षेत्रस्थित घटनास्थल करिब ८ किलोमिटरको दुरीमा रहेको छ । एक दशकदेखि राताकाठामा निर्माणाधीन सडकमा प्रशाशनले एक वर्षदेखि जिप चल्न रोक लगाएको थियो ।
दिउँसो राताकाठा आसपासमा नेपाल प्रहरीको गस्ती हुने गरेकाले हिकिला, सुनसेरा र ब्याससहितका गाउँ जान मानिसहरु राती जिपमा सवार थिए ।