पोखराको दिपसागर होटलबाट भागेका कैदी काठमाडौंको तिरुपति होटलबाट बलात्कार प्रयासको आरोपमा पक्राउ

पोखराको दिपसागर होटलबाट भागेका कैदी काठमाडौंको तिरुपति होटलबाट बलात्कार प्रयासको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ पुष २०७३
  • 25K
    Shares

कैदी पुस्कर खड्का

गत मंसिर ९ गते पोखराको बिप्सागर होटलबाट भागेका कैदी पुष्कर खड्का काठमाडौंमा पक्राउ परेका छन् । होटलमा युवतीसँग यौन प्यास मेटाउन लगिएको भनिएका कैदी काठमाडौंमा युवतिसँग जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ परेपछि अनुसन्धानका क्रममा उनी कास्की कारागारमा जेल सजाय भोगिरहेका र मंसिर ९ गते भागेकै ब्यक्ति रहेको पुष्टि भएको हो ।

प्रहरी बृत कमलपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले खड्का पक्राउ परेको पुष्टी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालले पक्राउ परेको बारे जानकारी आएको र उनलाई कास्की झिकाउने प्रक्रिया सुरु गरिएको बताए ।

घटना विवरण अनुसार मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटेल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटेलमा बोलाइएको थियो ।

आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताका लागि भन्दै उनले युवतीलाई होटेलको कोठामा बोलाए । सामान्य कुराकारी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए । तर, युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्युरिटी गार्ड मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए ।

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयास मात्र गरेका थिए, त्यसभन्दा पहिला धेरैपटक उनले युवतीहरूलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ भने उनी कास्की कारागारमा सजाय भोगिरहेको अबस्थामा भागेको खुल्न आएको छ । पक्राउ परेका खड्काले १६–१७ वटा बलात्कारका घटनामा आफू संलग्न रहेको स्विकारेका छन् । उनी अभय नभई पुष्कर खड्का भएको पनि पुष्टी भएको छ ।

सुरुमा उपचारका लागि लगिएकोमा गण्डकी मेडिकल कलेजबाट भागेको बताइएपनि युवतीसँग यौन सम्पर्कका लागि न्यूरोड स्थित होटल दिपसागरबाट भागेको खबर सार्वजनिक भएको थियो । खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले अस्पतालबाट भागेको ‘कहानी’ बनाएपनि होटलबाट भागेको तथ्य खुलेपछि उनको सुरक्षामा खटिएका प्रहरी पनि कारवाहीमा परेका छन् ।

मंसिर ९ गते बिहान करिब १० बजे कैदी खड्कालाई कारागारबाट लिएर प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका एक कर्मचारी अस्पताल जाने भन्दै हिँडेका थिए । कैदी भागेपछि उनीहरु अहिले हिरासतमा छन् ।

महानगरीय प्रहरीका अनुसार खड्काले धेरै युवतीलाई मोडल तथा नायिका बनाउने भन्दै यौन प्यास मेटाउने माध्यम बनाएको देखिन्छ । उनले अन्तर्वार्ताको बहानामा होटेलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटेलमै थुनेर भाग्ने गरेको समेत खुल्न आएको छ । उनी पोखराबाट भागेको घटनाबारे थप अनुसन्धान बाँकीनै रहेको र कास्की झिकाएपछि अन्य तथ्य खुल्ने एसपी अर्यालले बताएका छन् ।

प्रतिक्रिया