प्रमुख तीन दलमध्ये एमाले र एकीकृत माओवादी घाटामा र काँग्रेस नाफामा रहेको पाइएको छ । दलहरुले निर्वाचन आयोगमा बुझाएको आम्दानी खर्चको विवरणअनुसार त्यस्तो देखिएको हो । काँग्रेसले गत वर्ष ८ करोड ५४ लाख १३ हजार ५८५ रुपैयाँ आम्दानी गरेको छ । आम्दानीको श्रोतमा सदस्यता नवीकरण, लेबी र व्यक्तिगत चन्दा सहयोग उल्लेख छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
काँग्रेसले १ करोड ५४ लाख ३० हजार ४ सय ७० रुपैयाँ खर्च गरेको छ । यस्तै एमालेले गएको एक वर्षमा ७ करोड २४ लाख ७१ हजार ७६८ रुपैयाँ आम्दानी देखाएको छ । सदस्यता नवीकरण र लेबीबाट ३ करोड २६ लाख ९० हजार ९६४, चन्दा सहयोग व्यक्तिगत ११ लाख २८ हजार ५ सय तथा अन्य स्रोतबाट २५ लाख ४२ हजार आम्दानी गरेको एमालेले जनाएको छ ।
एमालेले ८ करोड ८३ लाख ६४ हजार २८० रुपैयाँ खर्च गरेको छ । एमोलेले लाभका पदमा नभएका केन्द्रीय सदस्यलाई एमालेले मासिक १० हजार तलब दिन्छ । महासचिव ईश्वर पोखरेल, सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराई तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले थप रकम पनि पाउँछन् । कार्यालयमा कार्यरत २५ कर्मचारीले मासिक १५ देखि २५ हजारसम्म बुझ्छन् ।
एमालेलाई एक वर्षमा १ करोड ५८ लाख ९२ हजार ५१२ रुपैयाँ ऋण लागेको छ । तेश्रो ठूलो दल एमाओवादीलाई पनि ऋण लागेको छ । एमाओवादीको गत वर्षको आम्दानी ४ करोड २१ लाख ९७ हजार ६५२ रुपैयाँ छ ।
सदस्यता नवीकरण र लेबीबाट २ करोड ५५ लाख ६३ हजार ९ सय ३० रुपैयाँ आम्दानी भएको छ । व्यक्तिगत चन्दा सहयोगबाट १ करोड ५७ लाख ८२ हजार ३ सय १३ तथा अन्य स्रोतबाट ४ लाख ३० हजार रुपौयाँ आम्दानी गरेको उसले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
एमाओवादीको एक वर्षको खर्च भने ४ करोड ९२ लाख ११ हजार ५३५ भएको छ । एमाओवादीलाई ७० लाख १३ हजार ८८३ रुपैयाँ ऋण छ ।
नेता तथा कर्मचारीलगायतको तलबमा मात्र मासिक अढाइ लाख रुपैयाँसम्म खर्च हुने गरेको एमाओवादीले जनाएको छ । १६ केन्द्रीय सदस्यले मासिक २२ हजारका दरले पार्टीबाट तलब बुझ्छन् ।
केन्द्रीय कार्यालयमा कर्मचारीका रूपमा कार्यरत राज्य समिति तहका कर्मचारीले १८ हजार तलब पाउँछन् । त्यसभन्दा तल्लो तहका कर्मचारीले १२ हजारका दरले मासिक तलब बुझ्छन् ।