काठमाडौँ, ६ असार २०८३।
इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविराम सहमति भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ४७ जनाको मृत्यु तथा त्यसको जवाफमा हिजबुल्लाहले गरेको प्रतिआक्रमणपछि उक्त सहमति सार्वजनिक गरिएको हो।
पछिल्ला सैन्य झडपहरूले अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयासलाई प्रभावित पार्ने चिन्ता बढाएको थियो। यसअघि लेबनान सीमाक्षेत्रमा भएको आक्रमणमा हिजबुल्लाहले चार जना इजरायली सैनिकको हत्या गरेको थियो।
बीबीसीका अनुसार इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि सम्भावित खतराहरू न्यूनीकरण गर्न सैन्य गतिविधि जारी रहने जनाएको छ। हिजबुल्लाहले औपचारिक रूपमा युद्धविरामको पुष्टि नगरे पनि संगठनका महासचिव शेख नइम कासिमले इजरायलको हिजबुल्लाहलाई समाप्त पार्ने योजना असफल भएको दाबी गरेका छन्।
उता, उद्धारकर्मीहरूका अनुसार युद्धविराम घोषणा भएयता पनि लेबनानको नबातीह क्षेत्रमा कम्तीमा १२ पटक इजरायली हवाई आक्रमण भएको छ। यसले क्षेत्रीय तनाव अझै पूर्ण रूपमा अन्त्य नभएको संकेत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यसअघि लेबनानसँगै अमेरिका र इरानबीच पनि युद्धविराम सम्बन्धी समझदारी भएको बताइएको थियो। तर, उक्त सहमति व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको भन्दै तेहरानले ट्रम्प प्रशासनमाथि इजरायललाई नियन्त्रणमा राख्न नसकेको आरोप लगाएको छ।
ट्रम्पले समेत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि हिजबुल्लाहविरुद्धको कारबाहीका क्रममा अनावश्यक रूपमा सर्वसाधारणमाथि आक्रमण गरिएको आरोप लगाएका छन्।
यता, ह्वाइट हाउसले युद्धविराम कायम रहेको दाबी गरिरहँदा इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले इजरायली सैनिकको मृत्युको प्रतिशोध लिने चेतावनी दिएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले भने इजरायल स्थायी द्वन्द्व चाहिरहेको आरोप लगाउँदै सम्झौता उल्लंघन भए त्यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताएका छन्।
युद्धविरामको घोषणाप्रति विस्थापित लेबनानी नागरिकहरू भने आशंकित देखिएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार स्थायी शान्ति स्थापनाका लागि आगामी हप्ता वासिङ्टनमा लेबनानी सरकार र इजरायलबीच प्रत्यक्ष वार्ता पुनः सुरु हुने तयारी छ।
लेबनानी राष्ट्रपति जोसेफ औनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको संवादमा वार्ता सफल बनाउन लेबनानी भूमिमा हुने इजरायली सैन्य आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने अडान राखेका छन्।
इरानका सर्वोच्च नेताको हत्याको बदलास्वरूप हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान पनि इजरायल, अमेरिका र इरानबीचको व्यापक क्षेत्रीय तनावमा तानिएको थियो। त्यसको प्रतिक्रियास्वरूप इजरायलले लेबनानका विभिन्न क्षेत्रमा बमबारी गर्नुका साथै दक्षिणी लेबनानको करिब पाँच प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।