काठमाडौंँ – भरतपुर महानगरपालिका चितवनकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् ।
मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर रेनु दाहालले एकलौटी ढंगले चलाउन खोजेकाले अनियमितता बढेको दाबी गरेकी छन् ।
उनले मेयर दाहालमाथि १२ वटा आरोप समेत लगाएकी छन् । पत्रकार सम्मेलनमा उनले दुई वर्षसम्म पनि लेखा समिति गठन नगरेको, जिन्सी समिति गठन नगरेको, महत्त्वपूर्ण समितिहरु एकलौटी ढंगले गठन गरेको लगायतका आरोप लगाएकी छन् ।

पत्रकार सम्मेलनमा उपमेयर शाहले मेयरमा दाहाललाई जिताएर काँग्रेसले गल्ती गरेको पनि बताइन् ।स्थानीय तह निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।
‘रेनुले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ,’ उप्रप्रमुख शाहले भनिन्,‘ उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएपनि मेयरले यसबारे वेवास्ता गरेको बताइन् ।
तर, उपमेयर शाहको आरोपमा सत्यता नभएको मेयर दाहालले बताइन् । मेयर दाहालले भनिन् ‘उहाँले लगाएका आरोपमा कुनै सत्यता छैन । यो आरोपका लागि मात्रै लगाइएको हो ।’
त्यस्तै मेयर दाहालले उपमेयर दाहाल कार्यालयमा नबस्ने, महानरमा कुनैपनि विषयमा छलफल नगर्ने, विकासका कामममा चासो नै नदिने बरु व्यक्तिगत सेवा सुविधामा अनावाश्यक दावी गर्ने र उल्टो पत्रकार सम्मेलन गर्ने कार्य निन्नदनीय भएको बताइन् ।
यसअघि गत फागुन सात गतेपनि उपमेयर शाहले भरतपुरमै पक्रकार सम्मेलन गरेर आफ्ना धारण सार्वजनिक गरेको जनाएकी छन् ।