पोखरा , ३१ बैशाख २०८३।
१० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ ।
आज पोखरामा आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले ओलम्पियन बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरेका हुन् ।
वि. सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाएका हुन् ।
गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरे ।
बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो ।
विश्वका हस्ती धावकहरूसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए । उनले सन् १९९४ मा भएको १२ औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए ।
दक्षिण एसियाली खेलकुद (साग) मा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो । चौथो देखि सातौँ सागसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा काश्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुम्न सफल भए ।
अन्तर्राष्ट्रिय म्याराथनमा नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र अस्ट्रेलिया जस्ता देश पुगेका बोगटीले सन् १९८९ मा जर्मनीबाट तीन हप्ताको कोचिङ कोर्स समेत पूरा गरेका थिए ।
तात्कालिन सरकारले ’गोरखा दक्षिणबाहु’ बाट विभूषित गरेका ६४ वर्षीय बोगटी अझै पनि उत्तिकै ऊर्जावान् छन् ।