पोखरा, २७ भदौ २०८३ ।
सहारा क्लब पोखराले गत वर्ष आयोजना गरेको २५औँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताबाट तीन लाख २१ हजार रुपैयाँ बचत गरेको छ। यो कुल आम्दानीको २.४२ प्रतिशत हो।
शुक्रबार पोखरामा आयोजित आय–व्यय सार्वजनिक कार्यक्रममा क्लबले प्रतियोगिताबाट एक करोड ३३ लाख २३ हजार चारसय ८५ रुपैयाँ आम्दानी र एक करोड ३० लाख १ हजार छसय ४६ रुपैयाँ खर्च भएको जानकारी दिएको हो।
क्लबका अनुसार गेट टिकटबाट मात्रै आठ लाख ३३ हजार ५०० रुपैयाँ आम्दानी भएको थियो। मुख्य प्रायोजक हिमश्री फुड्सले ३० लाख १८ हजार सातसय ५० रुपैयाँ तथा प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले १०/१० लाख रुपैयाँ सहयोग गरेका थिए।
क्लबका अध्यक्ष केशवबहादुर थापाले दर्शकको उपस्थिति अपेक्षाकृत कम हुँदा बचत न्यून भएको बताए । उनले प्रतियोगिताबाट भएको बचत पोखरा–१७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिने जानकारी दिए ।
एकेडेमी सञ्चालनका लागि वार्षिक करिब ५० लाख रुपैयाँ आवश्यक पर्ने क्लबले जनाएको छ। हाल एकेडेमीमा १६ जिल्लाका ३० जना बालकले आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षण लिइरहेका छन्।
गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा चार विदेशी सहित १२ टोली सहभागी थिए। २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लबले जितेको थियो भने विजेताले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।