धन्न धन्नकेन्द्रीय राज्यसत्ताकब्जा गर्नसक्ने परिस्थितिमा रहेको विगतको दशवर्षे जनयुद्धलाई अचानक रोकेर केही टाँठाबाठाहरु सत्तामा पुगेका छन् । सर्वहारावर्गको सपनालाई तिलाञ्जली दिएर केही व्यक्तिहरुले आफ्नो वर्गका् उत्थान गरी उच्च घरानियाँ वर्गमा परिणत भएका छन् । जनयुद्धका शहीद तथा बेपत्ताहरुका परिवारहरुको विचल्लीमा छन् घाइतेहरु अहिले पनि उपचार नपाएर शरीरमा गोली बोकेर अपांग जीवन बिताईरहेका छन् मुलुकमा जनतालाई आफ्नो अधिकारका बारे सचेत गराउने र आफ्नो अधिकारका लागि लड्नुपर्छ भन्ने धारणाको विकास गराएको माओवादी जनयुद्धको मूलपार्टी टुक्रिएर पाँच टुक्रा भएका छन् ती मध्ये कतिपय माओवादी पार्टीहरु फेरि ध्रुवीकृत हुनुपर्छ भनिरहेका छन् । तर नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादीले अहिले पनि सर्वहारावगैका् मुक्ति र उनीहरुको राज्यसत्ता प्राप्तिका लागि सशस्त्र आन्दोलन आवश्यक छ भनिरहेको छ के अहिलेको अवस्थामा सशस्त्र आन्दोलन सम्भव छ लगायत यी र यस्तै जिज्ञासाहरु समेटेर नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवसँग अन्तरवार्ता गरिएको छ । प्रस्तुत छ, अन्तरवार्ताको अंश – सम्पादक
२१ औँ जनयुद्ध दिवसका अवसरमा तपाईं पार्टीको मुख्य नेतृत्वको हैसियतबाट फागुन १ र समग्र फागुन महिनालाई कसरी स्मरण गर्नुहुन्छ ?
हामी माओवादीहरूका लागि फागुन महिना वैज्ञानिक समाजबादको सुन्दर सपना, उच्च आदर्श, विद्रोह, नया जीवन, त्याग, बलिदान र विजयसँग जोडिएको महिना हो ।
यही महिनाबाट नेपालमा जजर बनेर बसेको सामन्तवादी तथा दलाल पुँजीवादी राज्यसत्तालाई मिल्काउन र जनताको नयाँ जनवादी, वैज्ञानिक समाजबादी राज्यसत्ता निमार्ण गर्ने आरम्भ भएको हो ।
१० वर्षको भीषण गृहयुद्धबाट नेपाली जनताले इतिहासमा पहिलो पटक जनताको सत्ता निर्माण गर्न सफल भए । यसर्थ फागुनलाई हामीले जनताको इतिहास रच्न सुरु गरेको महिनाको रूपमा स्मरण गर्नुपर्दछ ।
आज आउँदा जनयुद्धका १० वर्ष र शान्ति प्रक्रियाका १० वर्ष पूरा हुँदैछ । यी दुई दसकलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?
जनयुद्धको दस वर्ष भनेको नेपाली जनताले विजयको इतिहास रचेका वर्ष हुन् । यसलाई हामीले नेपाली राजनीतिका स्वर्णिम वर्षहरू भनेका छौँ । परन्तु पछिल्ला शान्ति कालका १० वर्ष भनेका अँध्यारो पर्दाले छोपिएका वर्ष हुन् ।
जनता र हामी माओवादीको इमानदारिताबाट फाइदा उठाउँदै सारा प्रतिक्रियावादी र आत्मसमर्पणवादी धोकेबाजहरूले आफ्नो तुच्छ स्वार्थका लागि जाल, कपट, षड्यन्त्र गरेर जनताको विजयलाई धुलोपिठो पार्न प्रयोग गरेका वर्ष हुन् । यी वर्षलाई हामीले जनताका लागि पीडाले भरिएका कालो अध्यायका वर्ष भनेका छौँ ।
लडाइँमा हारेका दलालहरूले पछिल्ला १० वर्षलाई प्रयोग गरेर नेपालमा प्रतिक्रियावादी दलाल पुँजीवादी संसदीय व्यवस्था स्थापना गरेका छन् ।
केही स्वार्थी, अवसरवादी, आत्मसमर्पणवादी तत्वहरूले क्रान्तिलाई बेचेर मोजमस्ती र वैभवको निचतापूर्ण जनविरोधी अभिजात वर्गीय जीवन सुरु गरेका छन् तर यो वर्षबाट माओवादी आन्दोलनले कोल्टे फेरेको छ र अब पुनः क्रान्तिले नयाँ आरम्भ गरेको छ । अब पुनः जनताको उज्यालो यात्रा सुरु भएको छ । हामीलाई आशा छ, आउँदो दसक जनताको विजयको दसक हुनेछ ।
राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको सिद्धान्त अब सान्दर्भिक छैन भन्ने निष्कर्षमा एमाओवादी र वैद्य माओवादी पुगेको देखिन्छ । तपाईं के देख्नुहुन्छ ?
एमाओवादी र क्रान्तिकारी माओवादी एकै होइनन् र उनीहरू एउटै निष्कर्षमा पुगिसकेका भन्ने सही होइन तर एमाओवादी तपाईंले भनेको ठाउँमा पुगेको सही हो ।
एमाओवादी हामीले पार्टी अलग गर्दा घोषित रूपले यो निस्कर्षमा पुगिसकेको थिएन । तै पनि हामीले ऊभित्र यसका किटाणुदेखि सकेका थियौँ, त्यही भएर पार्टी अलग गरेको हो ।
जहाँसम्म उनीहरूको निष्कर्ष हो, त्यो उनीहरूको आत्मसुरक्षाका लागि दुश्मनहरूलाई खुसी पार्नका लागि गरेको बनावटी तर्क हो । वस्तुगत तथ्यहरूले त्योसँग मेल खाँदैन ।
वस्तुले त यो भन्छ कि सत्ता बन्दुकबिना परिवर्तन गर्न सम्भव छैन । सत्ता त टाढाको कुरा भयो । कानुन र राज्यलाई सुधार गर्न पनि जनताको लडाकु शक्ति चाहिँदो रहेछ भन्नेका हामी भुक्तभोगी भइसक्यौँ नि !
शान्ति प्रक्रियामा आइसकेपछि माओवादीको यात्रा निरन्तर ओरालो लाग्यो भनेर प्रचार गरिन्छ, के सत्य त्यही हो ?
यो विश्लेषण सही हो । सारमा आत्मसमर्पणवाद र विसर्जनवाद ओरालो लागेको हो तर सार भनेर के गर्ने रूपमा त सबै माओवादी कमजोर बन्न पुगेपछि तपाईंले भनेको मेल खान्छ तर ओरालो ओरालो मात्र हुँदैन, भौतिक दुनियाँमा अब उकालो पनि लाग्दैछ । ओरालो जति लाग्नु थियो लागिसक्यो, अब उकालो आउने बेला भइसक्यो ।
भन्डै केन्द्रीय सत्ता प्राप्तिको स्थितिमा पुगेको माओवादी जनयुद्ध आज आउँदा पाँच चिरामा विभाजित छ । यसो हुनुमा तपाईं कसलाई दोषी देख्नुहुन्छ ?
यसको मुख्य कारण प्रचण्ड हुन् । उनले लिएको दक्षिणपन्थी आत्मसमर्पणवादी बाटो नै माओवादी आन्दोलनको विभाजनको कारण हो । जब नेतृत्वले गलत बाटो लिने गरेको अन्तर्राष्ट्रिय आन्दोलनको अनुभवमा समेत जनता र क्रान्तिकारीहरूले विभाजन र पराजय व्यहोर्नुपरेको छ । नेपालमा प्रचण्डले लिएको गलत विचार र बाटो नै आजको पराजयको कारण हो ।
परन्तु सङ्गठन जति चिरामा भए पनि सारमा र अन्तमा हुने दुई धार नै हो । एउटा संसद्वादमा विसर्जन हुन्छ, एउटा क्रान्तिको दिशामा अगाडि बढ्छ ।
धेरैको भनाइमा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उसले धक्का व्यहोर्न थालेको हो । यथार्थमा शान्ति प्रक्रिया अघि नै हो वा पछाडि हो ?
राजनीतिक र सङ्गठनात्मक रूपले शान्ति प्रक्रिया आएपछि नै हो तर परिणामको कारण खोज्दा भौतिकवादले विगतभित्र कारण हुर्केको देख्छ । त्यसोभन्दा जनयुद्धभित्रै देखि प्रचण्डमा गलत विचारका बीउहरू थिए भन्न सकिन्छ ।
कसैले माओवादी विचलनको आरम्भ विन्दु २०५७ सालको दोस्रो राष्ट्रिय सम्मलेन हो भन्छन् । कसैले २०६२ को चुनवाङ भन्छन् । कसैले बालाजु प्लेनम र खरीपाटी भेलाबाट मात्र प्रचण्डमा विचलन आएको भन्छन् । आज आउँदा तपाईंको निष्कर्ष के हुन्छ ?
ती तर्क आज मिलेको लाग्छन् तर त्यति धेरै सत्य होइन । भन्नलाई त मोहनविक्रमले जनयुद्ध सुरु गर्दा नै अझ गर्नुपूर्व नै प्रचण्ड, बाबुरामको निम्न पुँजीवादी महत्वकाङ्क्षाले गरेको भन्दैथे । त्यति मात्र होइन, यिनले धोका दिन्छन पनि भन्दथे ।
तपाईं आज क्रान्तिकारी पार्टीको मुख्य नेतृत्वमा हुनुहुन्छ । मुख्य नेतृत्वको हैसियतबाट भनिदिनुस् कि सारमा चुनवाङ के थियो ? भारतमा गरिएको १२ बुँदे समझदारी के थियो ?
राजनीतिक रूपले चुनवाङले लिएको निर्णय ठिकै थियो । जस्तो कि निरङ्कुश राजतन्त्र आएको सन्दर्भमा दलहरूसँग मिलेर गणतन्त्रसम्म पुग्ने र गणतन्त्रमा पुगेपछि जनगणतन्त्रतर्फ अगाडि बढ्ने भन्ने लाइन ठिकै नै हो । बिग्रेको भनेको विस्तृत शान्ति सम्झौतापछि प्रचण्ड, बाबुराममा हुर्किएको आत्मसुरक्षावाद, आत्मसमर्पणवाद र विसर्जनवाद हो ।
जब प्रचण्ड बाबुराममा क्रान्तिभन्दा शान्तिमै रहेर सुविधाभोग गर्ने विचलन सुरु भयो अनि जनताका प्रस्ताव, जनयुद्धका प्रस्ताव, क्रान्ति, सहिद, बेपत्ता, घाइते, जनता, कार्यकर्ता सबैलाई छोडेर दुश्मनसँग घाँटी जोड्न पुगे । एक प्रकारले भन्दा हाड छालाको जीवनका लागि क्रान्ति बेच्न पुगे ।
कसैको भनाइमा १२ बुँदे पनि दिल्ली सम्झौताकै पुनरावृत्ति थियो भनिन्छ । के यथार्थमा त्यही थियो त ?
आजको विभत्स र पीडादायी परिणामलाई हेर्दा हो भन्न सकिन्छ ।
अनुभववाद र व्यवहारवादको कसीबाट हेर्दा केही मान्छेले माओवादी जनयुद्धलाई चुनवाङबाट शान्तिपूर्ण बाटोमा ल्याउनु ठिकै थियो । लामो समय लडेको भए पेरु, बर्मा, मलायाको बाटोमा जान्थ्यो तर प्रचण्डले यता ल्याएर ठिकै ग¥यो भन्ने देखिन्छ । के त्यही हो त ?
पेरु, बर्मा, मलाया, फिलिपिन्स कुरा छुट्टै हो । प्रचण्ड, बाबुरामले गरेको छुट्टै हो । पेरु, मलायाबाट बच्ने बाटो आजका प्रचण्ड, बाबुरामले लिएको बाटो होइन । पेरु, फिलिपिन्स, इन्डोनेसिया त इतिहासमा क्रान्तिकारी प्रतीक र आदर्श बनेर रहेका छन् । तिनले कुनै पनि क्रान्तिकारीलाई निराशा र वितृष्णा दिएका छैनन् ।
प्रचण्ड, बाबुराम त आफू बाँचे तर क्रान्तिकारी जनता, सहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धा र माओवादी कार्यकर्तालाई पीडा र निराशा दिए । आदर्श मारेर वितृष्णा दिए । यी दुईको तुलना नै हुन सक्दैन ।
तपाईं अहिले पनि रोल्पा सहमतिलाई पालना गर्नुपर्छ भनेर बारम्बार भन्ने गर्नुहुन्छ । के थियो रोल्पा सहमतिमा ?
मुख्य सहमति भनेको नेपालमा संसदीय व्यवस्था परिवर्तन गर्ने, सत्तामा माओवादीले समान भूमिका पाउने जस्तो कि सेना, प्रहरी, अदालत, प्रशासन, अर्थ विभागमा समान भूमिका पाउने, दीर्घ शान्ति र स्थिरतातिर जनतालाई लैजाने भन्ने थियो । यदि त्यो हुँदैनथ्यो भने माओवादी शान्ति प्रक्रियामै आउँदैनथ्यो ।
काङ्ग्रेसएमालेका केही नेताहरू भन्छन्, १२ बुँदे सहमति हुँदै तत्कालीन बालुवाटार सहमति अनि विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै काङ्ग्रेस र एमाले इमानदारितापूर्वक प्रस्तुत भयो । के सत्य त्यही हो त ?
पूरै झुट कुरा हो । यदि काङ्ग्रेस, एमाले सम्झौताप्रति इमानदार भइदिएको भए नेपालमा आजको सङ्कट नै देखापर्ने थिएन । वार्ताकालका १० वर्ष खेर जाने थिएनन् । देश फेरि क्रान्तितर्फ जानुपर्ने थिएन ।
के आजको सन्दर्भमा माओवादी पुनर्निर्माण सम्भव छ ? तपाईं के देख्नुहुन्छ ?
निश्चय नै सम्भव छ । माओवादी पार्टीमा भएका बहसहरू अब मूलरूपले सही के हो र गलत के हो भन्ने पहिचान हुन पुगेको छ । इमानदार क्रान्तिकारीहरू कोही पनि आजको प्रतिक्रान्ति, प्रतिगमन र संसदीय व्यवस्थाको स्थापनाबाट सन्तुष्ट छैनन् । कमीकमजोरी सच्याएर क्रान्तिलाई हाँक्दा सबै एक हुने अवस्था बनेको छ ।
अहिले प्रचण्ड फेरि पनि माओवादीहरू एक हुनुपर्छ भनेर एकताको आह्वान् गरिरहेका छन् । त्यो प्रचण्डको आह्वान्लाई तपाईं कसरी लिनुहुन्छ ?
प्रचण्डको यो आहवान् होइन माखेदाउ र विलौना हो । एकताको आधार भनेको विचार, राजनीति, योजना हुन् तर उहाँहरूले केवल सङ्गठनको एकताको मात्र कुरा गर्नुहुन्छ ।
यो हुने कुरा होइन भन्ने उहाँलाई थाहा छ । किनकि माओवादीले एकता र विभाजनका ठूल–ठूला उतार चढाव उहाँहरूकै समयमा भोगेको छ । कम्युनिस्ट पार्टी विचार, योजनाको सुसंगठित मान्यतामा चल्छ ।
प्रतिक्रियावादी सत्तालाई परिवर्तन गर्न सही विचार नभएका तत्वहरूसँग एकता गरेर सम्भव हुँदैन, बरु गलत सोच राख्नेहरूलाई छोडिदिनुपर्छ । यदि जनयुद्ध सुरु गर्दा विचार नमिल्ने साथीहरू निर्मल लामा, प्रकाश, रूपलालहरूलाई नछोडेको भए क्रान्ति नै हुने थिएन ।
आज पनि त्यही कुरा सही रहेको छ । हामीले जुन कदम चालेका छौँ, क्रान्तिलाई अगाडि बढाउनकै लागि चालेका छौँ । उहाँहरू पछि फर्किनुभएको छ । क्रान्तिमा नजाने भएरै फर्किनुभएको छ अनि कसरी एकता हुन सक्छ ! अहिले प्रचण्डले भनेको एकताका दुई कारण छन्, एउटा आफ्नो विसर्जनलाई रोक्ने र अर्को सत्ता बार्गेनिंग बढाउने । यस्तो माखेदाउको कुनै औचित्य छैन ।
तपाईंको नेतृत्वमा बनेको माओवादी पनि एक वर्ष पूरा भएको छ । यो एक वर्षमा तपाईंहरूले पार्टी निर्माणको औचित्यलाई पुष्टि गर्न सक्नुभएन भन्ने आरोप छ नि ?
यो क्रान्तिबाट तर्सिएका दुई कौडीका मान्छेको कुरा हुन सक्छ । कार्यकर्ताका कुरै छोडौँ जनता र विरोधी सबैले हाम्रो पार्टीबारेमा बुझिसकेका छन् ।
एकीकृत जनक्रान्ति भनेर तपाईंहरूले भनिरहनुभएको छ । के हो एकीकृत जनक्रान्ति भनेको ?
नेपाली समाज, नेपालको राज्य र जनताको बीचको अन्तर्विरोधलाई क्रान्तिमा बदल्न संश्लेषण गरिएको विचार नै एकीकृत जनक्रान्ति हो । यसमा रुसमा लेनिनले विद्रोह गर्दाको विचार र शिक्षा, चीनमा माओले जनयुद्ध गर्दा प्रयोग गरेका विचार र शिक्षा, विश्वका अन्य देशहरूमा कम्युनिस्टहरूले प्रयोग गरेका तरिकाहरू र आजका विद्रोहका अनुभवहरू सहित समावेश छन ।
नेपाली जनताले क्रान्ति गर्ने हो । जनता भनेपछि किसान, मजदुर, युवा, उद्यमी, मध्यम वर्ग सबै हुन । हामी माओवादीले त्यसको नेतृत्व गर्ने हो । क्रान्तिको विचार भनेकोे जनताको भावनाहरूलाई केन्द्रित गरेर गर्न सकिने हो । त्यो आफ्नो देशको विशेषता सहित हुन्छ । हामीले गरेको एकीकृत जनक्रान्ति त्यसैको मूर्तरूप हो ।
भ्रष्टाचार र कालोबजारिया विरुद्ध कारवाही गरिरहनुभएको छ, अहिले के हँुदैछ ?
हो, हाम्रो पार्टीले राज्यका विभिन्न ओहदामा बसेर देशलाई लुट्ने, जनतालाई ठग्ने भ्रष्टाचारी र कालोबजारियाहरूलाई कारवाही चलाएका छ । हालसम्म लगभग दुई दर्जनभन्दा बढी भ्रष्टाचारीलाई जनकारवाही भएको छ ।
यसमा जनताले नै भाग लिइरहेका छन् । देशको नदी नाला बेच्ने, कमिसनको लोभमा गलत सम्झौताहरू गर्ने, पैसाको लागि मालपोत, भूमिसुधार, वन, स्कुल, स्वास्थ्य, शिक्षा, जलस्रोत जस्ता ठाउँमा बसेर बदमासी गर्नेलाई कारवाही भएका छन् । बदमासी भेटिएमा अझै कारवाही हुन्छ ।
कारवाही गर्ने जिम्मा त सरकार, प्रहरी प्रशासनको होइन र ?
हो । यदि जनउत्तरदायी सरकार र प्रशासन भइदिए तपाईंले भनेको सही हो तर नेपालमा स्थिति बडो अनौठो छ । सरकारको धन्दा नै कमिसन सोहर्ने छ । भूकम्प जस्तो विपद्मा आएको जस्ता र पाल त बेचेर खान्छन् यहाँको सरकार, प्रहरीको हालत बडो डामाडोल छ ।
आइजी नै करोडौँको घोटालामा डुबेर प्रहरीको इज्जत नै नालीमा फालेका छन् । प्रशासनमा बसेका कैयौँ मान्छेहरूको चलखेल नै पैसाका लागि छ । यस्तो अवस्थामा जनताको सेवा गर्नु पार्टीको दायित्व बन्न आउँछ ।
यो सरकार बनेपछि यहाँको पार्टीलाई निगरानीमा राखेको र कार्यकर्तामाथि दमन भएको भन्ने छ के हो ?
यो एकदमै सही कुरा हो । भ्रष्टाचारीहरूलाई र दलाल पुँजीपति वर्गलाई कारवाही गरेपछि पार्टीमाथि अनावश्यक निगरानी गर्ने र कार्यकर्तालाई दमन गर्ने कार्य गरिएको छ ।
झापाको सेक्रेटरी कमरेड विवश सहित चार जनालाई सुपारी तस्करलाई कारवाही गरेको बदलामा जेल हालिएको छ । देशभर गरेर एक दुई दर्जन कमरेडहरूलाई मुद्दा लगाइएको छ । यदि यो कदम नरोक्ने हो भने स्थिति जटिल बन्नेछ ।
हतियार खरिद गर्नेमा लाग्नुभएको छ भन्ने निकै प्रचार गरिएको छ नि के हो ?
यो पार्टीमाथि दमन गर्ने नियतले गरिएको षड्यन्त्रकारी प्रचार हो । हामी क्रान्तिका लागि समर्पित छौँ । क्रान्तिमा जनतालाई आवश्यक पर्ने वस्तु चाहिन्छ भन्नेमा पनि स्पष्ट छौँ तर चीनबाट या कतैबाट हतियार लिदैछौँ भनेर गरिएको प्रचार झुटो हो ।
अन्तमा तपाईं नेपाली जनतालाई के भन्नुहुन्छ ?
जनयुद्ध दिवस र सहिद सप्ताहकोे अवसरमा सबै सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते योद्धा, क्रान्तिकारी जनसमुदाय, पार्टी कार्यकर्ता सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।