मरेको कुखुराको मासु बेचेको आरोपमा दुईजना भारतीय पक्राउ

मरेको कुखुराको मासु बेचेको आरोपमा दुईजना भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 14.4K
    Shares

म्याग्दी सदरमुकाम बेनीमा बुधबार मरेको ब्रोइलर कुखुराको मासु बिक्री गर्न लाग्दा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । बेनी नगरपालिका-४ हाँडेभिरस्थित रोशनी फ्रेस हाउसमा मरेको ब्रोइलर कुखुराको मासु बिक्री गर्न लाग्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । मरेको कुखुराको मासु बिक्री गर्नका लागि खुइलाउँदै गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा मरेको कुखरा बेच्न लागेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पसलबाटै पक्राउ गरेको थियो ।

भारतको बेतिया जिल्लाको थानामझौला गाविस सेक्टर-१६ घर भई बेनी नगरपालिका-४ स्थित रोशनी फ्रेस हाउसका सञ्चालकहरु २८ वर्षका प्रेमचन्द्र साह र बेतियाकै २४ वर्षका कृष्ण गुप्तालाई नियन्त्रणमा लिइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

उनीहरुलाई ५० वटा मरेको कुखुरासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । मरेको कुखुराको जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरी त्यसको रिपोर्टका आधारमा आवश्यक कारवाही अगाडि बढाइने प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया