चितवन मेडिकल कलेजमा प्रसुती गराउन आएकी भरतपुर – ७ कृष्णपुरकी २५ वर्षिय सुनिता गुरूङको मृत्युपछि पिडितका आफन्तले पाँच दिनदेखी शव उठाएका छैनन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको दावी गर्दै पीडितले छानविन र ५० लाख क्षतिपुर्ति रकम माग गरेका छन ।
गत सोमबार अपरान्ह् गुरुङको मृत्यु भएपछि आफन्तले शिक्षण अस्पतालमा तोडफोड समेत गरेका थिए । लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रशासनमा क्षतिपुर्तिको निवेदन दिएपनि तिन दिन देखी पिडित र अस्पताल प्रशासन बिच सहमति हुन सकेको छैन् । उपचार क्रममा मृत्यु भएकालाई क्षतिपुर्ति दिन नसक्ने अस्पताल प्रशासनले बताएपछि पीडितले शव नउठाएका हुन् ।
घट्ना बुझ्न शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणपसाद भट्टको रोहवरमा छानविन समिति गठन गरिएको छ । समिति संयोजकमा सहायक प्रजिअ रामराज सुवेदी छन । सदस्यमा भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेल, राष्ट्रिय अनुसन्धानका एसपी अच्युत पन्त, जनस्वास्थ्य प्रमुख बिजय झा र प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठ छन ।
पीडित पक्षले आमाको २५ र बच्चाको २५ लाख क्षतिपुर्ति माग्दै निवेदन दिएको सहायक प्रजिअ सुवेदीले बताए । चिकित्सक संघ सहितको टोली र पीडितबीच भएको छलफलमा ५० लाख क्षतिपुर्तिमा अडान राखेपछि अस्पताल प्रशासनले अस्विकार गरेको हो । छानबिन समितिले ७ दिन भित्र महिलाको मृत्युको कारणबारे छानविन गरी प्रतिबेदन बुझाउने जनाईएको छ ।
समितिले चिकित्सकको लापरबाही वा उपचार क्रममा मृत्यु भएको बारे यथार्थ छानविन गर्ने जनाएको छ । चिकित्सक संघका सविच भोजराज अधिकारीले क्षतिपुर्तिको रकम दिने कुरा अत्यन्तै गलत भएको बताए । ‘चिकित्सको लापरबाही हो भने कारबाही हुनु पर्छ,’ उनले भने,‘उपचार गर्दा गर्दै मृत्यु भएको घट्नामा क्षतिपुर्ति दिने कुरा आउँदैन् ।’
शनिबार नेपाल आदिवासी जनजाती संघ र कान्तिनगर टोल बिकाश संस्थाले सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मृत्युको कारण पत्ता लगाई कारबाहीको माग गरेको छ । चिकित्सकको लापरबाही भन्दै संस्थाको तर्फबाट घनश्याम सुवेदीले सम्मेलनमा बिज्ञप्ति मार्फत मृत्युको कारण सार्वजनिक, उपचारमा सलग्न चिकित्सको सार्वजनिकरण, थुनामा रहेका ब्यक्तिको रिहाई र उचित,न्यायपूर्ण क्षतिपुर्तिको माग गरिएको छ ।
घट्ना यस्तो थियो
आईतबार राति अचानक सुनितालाई सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याईएको थियो । उनका साथमा आफन्त समेत थिए । अस्पतालमा स्त्रीरोग बिशेषज्ञ को टिमले गुरुङको उपचार गरिरहेको थियो । तर सोमबार अपरान्ह चिकित्सकले आफन्तलाई बाहिर निकालेर मृत्यु घोषणा गरेको पीडित परिवारको भनाई छ ।
उपचारमा लापरबाही भन्दै पीडित पक्षले अस्पतालमा तोडफोड गरेका थिए । त्यसपछि तनाब बढेको हो । उनको मृत्युपछि आफन्तले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकको विरोधमा नाराबाजी गरेका थिए । घट्नापछि जिल्ला प्रशासनमा मृतकका श्रीमान हर्कबहादुर गुरुङले क्षतिपुर्तिका लागी निवेदन दिएका छन् ।
सामान्य अवस्थाको बिरामीलाई उपचारमा लापरबाही गरेकाले मृत्यु भएको आफन्तले दाबी छ । सुनिताले गर्भवती अवस्थादेखी मेडिकल कलेजमा जाँच गराउदै आएकी थिईन् । सामान्य अवस्थाको बिरामीलाई चिकित्सकले उपचारमा हेलचेक्रयाई गरेकोले मृत्यु भएको मृतकका दाजु सीतामान गुरूङले बताए । अस्पताल प्रशासनले यथार्थ छानविन गरी मृत्युको कारण बाहिर नल्याए सम्म शव नउठाउने पीडितको भनाई छ ।
अस्पतालको दाबी
अस्पतालले बिज्ञप्ति जारी गर्दै गर्भावस्थामा बिकशित हुने जटिल रोग ईक्लामिसिया देखिएकाले सम्बन्धित बिशेषज्ञले उपचार गर्दागर्दै सघन कक्ष (आईसियू) मा मृत्यु भएको जनाएको छ । मृत्यु पछि आफन्तले अस्पतालका नर्स, चिकित्सक लगायतलाई गाली गलौज गरी अस्पताल तोडफोड र अभद्र ब्यवहार गरेका भन्दै भत्र्सना गरेको छ । ‘उपचारको क्रममा मृत्यु भएको हो,’ अस्पतालका निर्देशक डा.दयाराम लम्सालले भने,‘छानविन समिति गठन गरी प्रक्रिया अघि बढेकाले उपचारको क्रममा हो वा चिकित्सकको लापरबाही भन्ने पछि पत्ता लाग्छ ।’