जयललिताको मृत्युले बागमती अञ्चल यातायात कार्यालयको सेवा अवरुद्ध !

जयललिताको मृत्युले बागमती अञ्चल यातायात कार्यालयको सेवा अवरुद्ध !


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ मंसिर २०७३
  • 11.2K
    Shares

सवारी चालक अनुमतिपत्र आवेदनका लागि शुक्रबार बिहानै बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका सेवाग्राहीले सधैँ जस्तै टोकन लिए। फराम भरे। तर कर्मचारीले फारमको विवरण कम्प्युटरमा इन्ट्री गर्न मानेनन्।

शुक्रबार तमिलनाडुका सरकारी कार्यालय खुलेका छन्। अनियमितता र अव्यवस्थाको नमुना बनेको यातयात कार्यालयका कर्मचारीले भने जयललिताको मृत्युलाई कारण देखाएर ‘विदा’ अभ्यास गरेका हुन्।

बिहान ४ बजेदेखि जाडोमा लाइन लागेर बसेका उनीहरु आवेदन प्रक्रिया अघि नबढेपछि आक्रोशित देखिन्थे। ‘कम्प्युटर चलाउन आउँदैन भने मै चलाउँछु। यस्तो अव्यवस्था मैले दुनियाँमा देखेको छैन’, एक जना सेवागाह्री कार्यालय प्रमुखको कोठा अगाडिको भिडमा भन्दै थिए।

कार्यालय प्रमुख तेजनारायण यादबको कार्यालयभित्र प्रवेश गर्न खोज्ने ती युवालाई ढोकामा रहेका प्रहरीले रोके। दवाब बढ्दै गएपछि शुक्रबार मध्यान्ह कार्यालयले एउटा सूचना निकाल्यो।

‘शुक्रबार टोकन लिएकाहरुको फारम आइतबार पहिलो प्राथमिकता दिएर बुझिनेछ। प्राविधिक कारणले गर्दा फारम बुझ्न नसकेको क्षमा चाहन्छौं’, सूचनामा भनिएको थियो।

कार्यालयले सूचनै जारी गरेर सेवा अवरुद्ध भएको बताए पनि दिउँसो दुई बजेसम्म एक हुल सेवाग्राही केही चमत्कार भइहाल्छ कि भनेर भन्ने आशम यातायात कार्यालय परिसरमै वरपर गरिरहेका थिए।

सेवाग्राहीको गुनासो बढेपछि कार्यालय प्रमुख तेजनारायण यादब आफैँ भुइँतलामा ओर्लिए।कर्मचारीसँग सोधीखोजी गरे। ‘के भएको हो? हामीले किन सेवा दिन नसकेको हो?’ सरकारी कर्मचारीले भर्खरै सरुवा भएर अाएका हाकिमलाई रिपोर्ट गरे, ‘सर्भर डाउन छ सर। सर्भर चेन्नाइमा रहेकाले हामीले केही गर्न सक्ने अवस्था छैन। जयललिताको मृत्युले चेन्नाइ विदा छ।’

तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको ५ डिसेम्बरमा मृत्यु भएको थियो। उनको मृत्युमा सरकारी निकायका लागि चेन्नाइ सहित तमिलनाडुमा ३ दिन विदा र ७ दिन शोक मनाउने निर्णय त्यहाँको प्रान्तीय सरकारले गरेको थियो।

उनको शोकमा दिएको तीनदिने विदा बिहीबारै सकिएको छ। शुक्रबार तमिलनाडुका सरकारी कार्यालय खुलेका छन्। अनियमितता र अव्यवस्थाको नमुना बनेको यातयात कार्यालयका कर्मचारीले भने जयललिताको मृत्युलाई कारण देखाएर ‘विदा’ अभ्यास गर्दै सर्वसाधारणलाई खाली हात फर्काएका हुन्। सामान्यतः सर्भर सेवा प्रदायक कम्पनीले २४ घन्टै ‘सपोर्ट’ सेवाको व्यवस्था गरेका हुन्छन्।

प्रतिक्रिया