नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीले भ्रष्टाचार गरेको भन्दै जलउत्पन्न प्रकोप नियन्त्रण १८ नम्वर डिभिजन कार्यालय लमहीका प्रमुख वेदानन्द उपाध्यायलाई कालोमोसो दलेको छ ।
माओवादी कार्यकर्ताले उपाध्यायलाई कार्यकक्षभित्रै भ्रष्टाचारी भन्दै मोसो दलेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम बहादुर खड्काले बताए । प्रमुख खड्काले ४/५ जनाको संख्यामा पुगेका ब्यक्तिहरुले कार्यालय प्रमुख उपाध्याय माथी कालोमोसो छ्यापेको पुष्टि गरे । ‘४-५ जनाको समूहमा पुगेका ब्यक्तिहरुले कार्यालय प्रमुख माथी कालोमोसो छ्यापेको पाइयो, प्रहरी तत्कालै कार्यालयमा पुग्दा उनीहरु भागिसकेका रहेछन् । कालोमोसो भरेर लगेको डिब्बा हामीले बरामद गरेका छौं, प्रहरी प्रमुख खड्काले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौं ।’प्रहरी तत्कालै जलउत्पन्न प्रकोप कार्यालयमा पुगे पनि कसैलाई पक्रेको छैन ।
किसान संघ क्रान्तिकारले मंगलबार विज्ञप्ति निकालेर उपाध्यायले भ्रष्टाचार गरेकाले कालोमोसो दलेको जानकारी दिएको छ । नितिगतरुपमा उपभोक्ता समिति मार्फत गरिनुपर्ने कामलाई लाखौं रुपैयाँ कमिसन लिएर ठेकेदार मार्फत काम गराएको संघको आरोप छ । कमिसनको खेलमा गुणस्तरीय काम नहुदा उपभोक्ताहरु ठगिएको र कार्यालय प्रमुख उपाध्यायले विभिन्न कार्यक्रमबाट कमिसन लिएको संघको बिज्ञप्तीमा उल्लेख छ ।