नेपाल र चीनका वरिष्ठ सुरक्षा अधिकारी सम्मिलित द्विपक्षीय बैठक आइतबार सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयमा भएको उक्त बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने र एक चीन नीतिप्रतिको प्रतिबद्धता पेस गरेको थियो।
बैठकमा चिनियाँ पक्षले मार्च महिनामा चीनमा धार्मिक, सांस्कृतिक एवम् विविध उत्सव परेकाले चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी विशेष सजग रहनुपर्नेमा जोड दिएको थियो।
बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका बाह्य सुरक्षा मामिलासम्बन्धी महानिर्देशक ल्यु गोआङ्यानले गरेका थिए। बैठकमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत ११ जनाको सहभागिता थियो। बैठकमा नेपालबाट परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारी सहभागी थिए। रासस