उपचारका लागि अस्पताल लगिएका कास्की कारागारका एक जना कैदी विहिवार फरार भएका छन् । दिउँसो साढे १ बजे उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा लगिएका कैदी पुष्कर खड्का अस्पतालबाट फरार भएका हुन् । पिसाब फेर्न गएका उनी शौचालयको झ्यालबाट भागेको कास्की कारागारका प्रमुख हरि गौतमले जानकारी दिए ।
दाँतको उपचारका लागि ल्याइएका उनलाई यसअघि पनि उपचारका लागि अस्पताल ल्याउने गरिएको थियो । नियमित उपचारकै सिलसिलामा बिहीबार पनि अस्पताल ल्याइएको थियो ।
काभ्रे गोश्वारा–६ का ३५ वर्षीय खड्कालाई विसं २०७० वैशाख २६ गते अपहरण मुद्दामा अदालतले ६ वर्ष कैद र चार लाख जरिवानाको फैसला सुनाएको थियो । कैदी खड्कालाई प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्री नेतृत्वको ३ जनाको टोलीले अस्पताल लगेको थियो ।
तीनवटा खापा भएको झ्यालको एउटा खापाबाट सिसा निकालिएको हुँदा उनलाई भाग्न सजिलो परेको थियो ।शौचालयको झ्याल खुला भएको मौका छोपेर कैदी खड्का भाग्न सफल भएको प्रहरीले जनाएको छ । हत्कडी लगाएरै अस्पताल लगिएका उनलाई शौचालय जाने बेला भने खोलिएको थियो । फरार कैदीको खोजी तिब्र पारिएको कास्की प्रहरीले जनाएको छ ।