नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र नं. १ बाट निर्वाचित ब्यबस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले समाचारका विषयलाई लिएर सार्वजनिक स्थलमा आफैले पत्रिका च्यातेकोमा गल्ती स्विकार गरेका छन । जोशीले बिहीबार एक बिज्ञप्ती प्रकाशित गर्दै आफ्नो हातबाट पत्रिका च्यातिन पुगेको भन्दै दुःख समेत ब्यक्त गरेका छन । जोशीले बुधबार बिहान कुस्माको लोकतन्त्रचोक स्थित पार्टी कार्यालय अगाडी पत्रिकामा प्रकाशित समाचारका बिषयमा आक्रोश पोख्दै न्यू कालीगण्डकी दैनिक पत्रिका च्यातेका थिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा ब्यबस्थापिका संसद सदस्य जोशीले प्रकाशित गरेको बिज्ञप्तीमा ‘अधिबेशनको बिचमा निर्वाचनलाई समेत प्रभावित पार्ने गरी उक्त समाचार प्रकाशित भएको मलाई लागेकोले मेरो हातबाट अनायास त्यो पत्रिका च्यातिन पुगेको कुराले म आफै दुःखी छु ’ भनिएको छ। –‘पत्रिका च्यातिएको कुराबाट सिंगो प्रेसमा पर्न गएको असहजतालाई म हृदयगंम गर्दछु’
बिज्ञप्तीमा अगाडी भनिएको छ– प्रेस स्वतन्त्रताको सर्वोच्च मुल्यप्रति मेरो कुनै आग्रह पूर्वाग्रंह नभएको समेत सबैमा बिश्वास दिलाउन चाहन्छु’ उनले बिज्ञप्ती मार्फत स्वतन्त्र प्रेस प्रतिको आफ्नो सम्मान र भरोसा रहि रहने प्रतिबद्धतता जनाउँदै निपक्ष र न्यायपुर्ण समाचारको उद्देश्यप्रति समर्पित रहन सिंगो संचारजतलाई आग्रह समेत गरेका छन।
पत्रिकामा पर्वत काँग्रेसमा सभापतिको चुनाव अन्यौलमा, सहमतिको प्रयास जारी भन्ने शिर्षकको समाचारलाई लिएर उनले नेपाली काँग्रेसका सयौ कार्यकर्ताहरुको बिचमा पत्रिका कांग्रेस पार्टी कार्यालय अगाडि च्यातेका थिए । नेपाली काँग्रेसको सभापतिका लागि मंगलवार विहान १० बजेदेखि हुने भनिएको चुनाव दिनभर हुन नसकेपछि ‘सभापतिको चुनाव अन्यौलमा’ शिर्षकको खबर पत्रिकामा प्रकाशित भएको थियो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा र सचिव छविलाल तिवारीको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा प्रेस प्रति भएको अनादार घटना प्रति माफि माग्नुपर्ने माग गर्दै आगामी दिनमा घटना नदोहो¥याउन सचेत बनाएको थियो ।