नेपाल बन्दकाे सिलसिलामा नेकपा (माओवादी) का कार्यकर्ताले बिहानै बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले सिन्धुलीस्थित बिपी राजमार्गअन्तर्गत भद्रकाली– २ चियाबारीमा अाइतबार आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स १ च ११४४ नम्बरको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बन्दको अवज्ञा गरेको भन्दै ५–७ जना बन्दकर्ताले गाडी रोकी आगो लगाइदिएका थिए ।
जिप्रकाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताएका छन् । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताए । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उनको भनाइ छ ।
नेत्र चन्द नेतृत्वकाे माअाेवादीले विगतमा गरेका बन्दहरू प्रभावकारी नहुने गरेको भन्दै जिल्लामा सबै विद्यालय सञ्चालन गर्ने भनिए तापनि बलेरोमा आगजनी भएपछि एकाएक सबैतिरका विद्यालय बन्द गरिए । सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबरपछि पूर्ण रूपमा बन्द गरिए ।
घरमा राखिएका २ वटा बाइक र १ कारमा अज्ञात समूहले आगो लगाई फरार भएकाे छ । दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा १० च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको बा १० प २४० नम्बरको सरकारी मोटरसाइकल र स्थानीय रवीन्द्र पोखरेलको बा ४७ प ४९७८ नम्बरको मोटरसाइकल अागजनीका कारण जलेर नष्ट भएका छन् ।
राति करिब २ बजेतिर अज्ञात समूहले आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाइएको र प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको बताइएकाे छ ।
आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीमा बन्दकर्ता नेकपा (माओवादी) को संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ छ । तर, यसबारे माओवादी भने बोलेको छैन ।