कास्की प्रहरीले अवैध लागूपदार्थ चरेस कारोबारमा संलग्न एक गिरोहलाई नै पक्राउ गरेको छ । गत दुई साताको अवधिमा लामो अनुसन्धानपश्चात् प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । आजमात्रै प्रहरीले १५ किलो चरेश सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
लागू औषध नियन्त्रण व्यूरो पोखराको टोलीले मकवानपुरको आग्रा गाविसका २९ वर्षीय चन्द्रकुमार लो र सोही गाविसका ३९ वर्षीय मानबहादुर लो मुख्य कारोबारी र ३१ वर्षीय बाबुलाल गोले र २० वर्षीय सन्तोष खत्रीलाई पक्राउ गरेको हो । उनीहरु भरियाका रुपमा चरेश लिएर पोखरा आएका बेला प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीले गोलेको साथबाट ७ केजी ५ सय ग्राम र खत्रीको साथबाट पनि ७ केजी ५ सय ग्राम चरेस बरामद गरेको लागू औषध नियन्त्रण ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।
चरेश पोखरा ल्याएबापत् ज्यालाकारुपमा चन्द्रकुमार र मानबहादुरले उनीहरुलाई १० हजार रुपैयाँ दिएका थिए । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कार्वाही हुने प्रहरीले बताएको छ ।
१० केजी भन्दा बढी चरेसहित पक्राउ परेकालाई २ वर्षदेखि १० वर्षसम्म जेल सजाय र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनमा व्यवस्था छ ।