मुख्यमन्त्री कार्यालय र जिल्ला अदालतको दुईवटा गाडी नियन्त्रणमा लिएर चाबी खोसेको आरोपमा प्रहरीले नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल सहित ४ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा छन् । उनीहरुलाई बैदाम प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो संगठनका विद्यार्थीहरु रिहाईको माग सहित आन्दोलनरत नेविसंघले मंगलबार दिउँसो आफ्नो मातृ पार्टी नेपाली कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगा अघि सडक बन्द गरेको थियो । त्यही क्रममा उनीहरुलेमुख्यमन्त्री कार्यालय र जिल्ला अदालतको दुईवटा गाडी नियन्त्रणमा लिएर चाबी खोसेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालयको बा २ झ १३६३ र जिल्ला अदालत कास्कीको बा १ झ ८१५९ नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । मुख्यमन्त्री कार्यालयको गाडीको चाबी पृथ्वीचोकबाट र अदालतको गाडी को चाबी चिप्लेढुंगाबाटलिएका थिए ।विद्युत कार्यालयको बा १ झ १७० नम्बरको गाडीलाइ पनि उनीहरुले नियन्त्रणमा लिएको भएपनि अर्को चाबी प्रयोग गरेर त्यो गाडी लागिएको थियो ।
सार्वजनिक शान्ति विरुद्ध काम गरेकोले पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए । ‘सरकारी गाडीको चावी लगेको बुझिएकाले नियन्त्रणमा लिएर खोज्दा चावी भेटियो । त्यसैले नियन्त्रणमा लिएका हौं–उनले भने ।’
यस अघि सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरको गाडी जलाईएको थियो । गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटिसकेका छन् । परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल अहिले पनि प्रहरी हिरासतमा छन् । उनीहरुको रिहाईका लागि काँग्रेस कास्कीले पनि चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

यसैबीच, आफ्ना गिरफ्तार नेता तथा कार्यकर्ता रिहाईको लागि माग गर्दै नेविसंघका तीन केन्द्रीय सदस्यले जारी गरेको बिज्ञप्तविद्यार्थी रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले कास्कीमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । बुधबार नै ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।उनका अनुसार विहिबार पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने तथा शुक्रबार कालोपट्टी सहित प्लोकार्ड लिएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । आफ्ना माग सुनुवाई नभए शनिबारदेखि अनिश्चित कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ ।
मंगलबार नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रममा केन्द्रिय सदस्यहरु ढकालसँगै गोपाल गुरुङ र देवकृष्ण पराजुलीले पनि हस्ताक्षर गरेका छन् ।