धादिङ विद्युत कार्यालय प्रमुख पक्राउ, विरोधमा जिल्लाभर लाइन काटियो

धादिङ विद्युत कार्यालय प्रमुख पक्राउ, विरोधमा जिल्लाभर लाइन काटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ असोज २०७३
  • 10.7K
    Shares

सत्यनारायण गामी, कार्यालय प्रमुख, नेपाल बिद्युत प्राधिकरण धादिंग

वन क्षेत्र मिचेर बनाइएका घरहरुको लाइन नकाटेको भन्दै नेपाल विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सत्यनारायण गामीलाई जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार केहीबेर नियन्त्रणमा लिएर तारेखमा छाडेको छ भने आफ्ना कार्यालय प्रमुखलाई नियन्त्रणमा लिइएको विरोधमा प्राधिकरणका कर्मचारीहरुले जिल्लाभर लाइन काटेर विरोध जनाएका छन् । उता पूर्वजानकारीविना एक्कासी लाइन काटिएपछि स्थानीयबासिन्दा मर्कामा परे।

धादिङको निलकण्ठ नगरपालिकाको अमरावती सामुदायिक वन मिचेर बनाइएका घरहरुमा विद्युत लाइन काट्न गत साउन ३० गते जिल्ला वन कार्यालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही विषयमा असोज २ गते जिल्ला प्रशासन कार्यालयले पनि प्राधिकरणलाई पत्र काटेको थियो । सो निर्देशन अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार केहीबेर प्राधिकरण प्रमुख गामीलाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाईएको छ ।

जिल्ला वन कार्यालय प्रमुख इमनाथ पौडेलले प्राधिकरण प्रमुख गामीलाई साधारण तारेखमा छाडिएको जानकारी दिए । गामीलाई छाडेलगत्तै प्राधिकरणले पनि विजुलीको लाइन पुनः सुचारु गरेको छ ।

प्राधिकरण प्रमुख गामीका अनुसार वन कार्यालयको पत्रबारे क्षेत्रीय निर्देशनालयलाई जानकारी गराइएको थियो । तर, क्षेत्रीय निर्देशनालयले तत्काल लाइन नकाट्न र थप अध्ययन गरेर कारबाही गर्न भनेकाले आफूहरुले लाइन नकाटेको उनले बताए ।

वन क्षेत्रको जग्गा मिचेर रेडियो धादिङ, योग शिविर र सहयात्री समाजसहित दुई एनजिओ बसेका छन् । रेडियो धादिङमा एमाले सांसद राजेन्द्र पाण्डेको लगानी छ । ती कार्यालयहरुमा प्राधिकरणले विद्युत लाइन नकाट्नुमा आर्थिक चलखेल हुनसक्ने वन कार्यालयका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया