सिरियामा युद्धबिरामका लागि रुस र अमेरिकाबीच भएको सहमतीको उलङ्घन गर्दै अमेरिकी सेनाले हवाई आक्रमण जारी राखेको रुसले दावी गरेको छ । पछिल्लो आक्रमणमा परी ६२ जनाको मृत्यु भएको रुसी अधिकारीले जनाएका छन् । डेर अल जोर शहर नजिकै भएको सो आक्रमणमा अन्य कैयौं घाइते भएको रुसले जनाएको छ । रुसी विदेश मन्त्रालयले सो आक्रमणले सिरियामा गत सोमबारदेखि लागु भएको युद्धविरामको सहमति संकटमा परेको दावी गरेको छ ।
यता अमेरिकी अधिकारीले भने आक्रमण नियतवश नभएको भन्दै घटनाप्रति दु्ख व्यक्त गरेको छ । अमेरिकाले आफू नेतृत्वको गठबन्धनका लडाकू विमानहरुले भुलवश सिरियाली सैनिकमाथि हमला गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना सेनाले इस्लामिक स्टेट आइएस विद्रोहीहरुको अखडा भन्ने ठानेर सो स्थानमा आक्रमण गरेको तर सिरियाली सरकारी सेना रहेको भन्ने जानकारी पाएलगतै ती आक्रमण रोकिएको जनाएको छ ।
यसैबीच सिरियाली सैनिक मारिएको भन्दै रुसले संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक बोलाएको छ । आपतकालीन बैठक बोलाएकोप्रति अमेरिकाले भने आलोचना गरेको छ । अमेरिका र रुसबीच गत सोमबार भएको युद्धबिरामको सहमतीमा अतिवादी समूहबिरुद्ध एकताबद्ध भई सहकार्य गर्ने उल्लेख भएपनि अमेरिकी सेनाले भने अझैपनि बिद्रोही संगठनलाई साथ दिइरहेको भन्दै रुसले असन्तुष्टि जनाएको छ । तस्विर बीबीसी