दार्चुला जिल्लाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कीँदा एक जना बालक घाइते भएका छन् । घाइते हुनेमा शिखर १ का १० वर्षीय रोशन खडायत रहेका छन्।
चमेलिया जलविद्युत आयोजनाको विद्युत नहरको दुई नम्बर टनेलमा फालिएको माटोमा फालिएको विष्फोटक पदार्थ पट्कीएको हो। बालक बाख्रा चराइरहेको बेला तारमा ढुंगा फालेपछि विष्फोटक पदार्थ पड्कीएको बालकले बताए। विष्फोटक पदार्थबाट बालकको दुवै हातका औँला गुमेको छ। तारमा ढुंगा फाल्दा विष्फोटक पदार्थ पड्कीएको पीडित बालक खडायतले बताए। बालकको शरीरमा समेत विष्फोटक पदार्थको छर्रा लागेको छ ।
उनीसँगै रहेका अर्का ८ वर्षीय बालक विरा खडायत सामान्य घाइते भएका छन्। उनको शरिरमा समेत विष्फोटक पदार्थको छर्रा लागेको छ । पीडित बालकको शिखर स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि गोकुलेश्वर अस्पताल रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका चिकित्सक डा. रविरञ्जन शाहले बताए ।
यसअघि पनि बिटुले क्षेत्रमा फालिएको माटोसँगै विष्फोटकबाट एकजना घाइते भएका थिए। निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको शुरुङ खन्ने बेला पड्काइएको विष्फोटक पदार्थहरु अहिले देखिन थालेका छन् । उती बेला पड्कीन नसकेका विष्फोटक पदार्थ माटोमा भेटिने गरेको हो।
पीडित बालकका परिवारले चमेलिया जलविद्युत आयोजनासँग क्षतिपूर्तिको माग गरेको छ। बालकका बुवा बलबहादुर खडायत कामको शिलसिलामा भारतमा गएको र आर्थिक समस्याले उपचार गराउन नसकिने भन्दै क्षतिपूर्ति दिन नेपाल विद्युत प्राधिकरण चमेलिया जलविद्युत आयोजनासँग माग गरेका हुन्।
चमेलिया जलविद्युत आयोजनाका आयोजना उपनिर्देशक पुष्पराज जोशीले भने बालकको उपचारको लागि खर्च व्यवहोर्न नसकिने बताए। विद्युत निर्माण गरिरहेको चाइनिज गेजुवा गु्रपको निर्माणस्थलमा विष्फोटक पदार्थ भेटिएकोले नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्ति दिन नमिल्ने बताए।