गएको वर्ष भारतबाट २२ अर्ब रुपैयाँको चामल भित्रियो । पाँच अर्बको फलफूल, तीन अर्बको जिउँदा जनावर, एक अर्बको मासु र डेढ अर्बको डेरी प्रोडक्ट पनि भारतबाट ल्याइयो । यस्तै, आठ अर्ब बराबरको तरकारी भारतबाटै आयात भएको छ । तर, सोही वर्ष नेपालबाट भारतमा भएको कुल निर्यात जम्मा ३९ अर्ब रुपैयाँको मात्र छ ।
माथिको तथ्यांकले देखाउँछ, कृषिप्रधान मुलुक कसरी खाद्यवस्तुमै भारतसँग परनिर्भर बन्दै गइरहेको छ ? स्वदेशमै उत्पादन सम्भव भएका वस्तुमा पनि हामीले भारतबाट आयात गर्न थालेका छौं । नेपालमा उत्पादन नहुने सवारीसाधन, पेट्रोलियम पदार्थ, कृषि औजार, मेसिनरी औजार, फलाम तथा स्टिलको आयात झनै भयावह छ ।
नेपालको कुल वैदेशिक व्यापारमध्ये दुई तिहाइ भारतसँग हुने गर्छ । गत वर्ष भारतसँग पाँच खर्ब २३ अर्ब रुपैयाँको व्यापार भयो । यसमध्ये निर्यात ३९ अर्ब छ भने आयात चार खर्ब ८३ अर्ब रुपैयाँ छ । यस अवधिमा भारतसँगको व्यापार घाटा चार खर्ब ४३ अर्ब पुगेको छ । यस्तो घाटा पाँच वर्षअघि साढे दुई अर्बको हाराहारीमा मात्र थियो । पछिल्ला वर्ष व्यापार घाटा चुलिँदै गइरहेको छ ।
भारतसँगको व्यापार घाटा भयावह बन्दै गइरहेको छ । निर्यात ओरालो लागिरहेको छ भने आयात उकालो चढिरहेको छ । भारतीय वस्तुसँग नेपाली वस्तुले प्रतिस्पर्धा गर्न नसक्नु पनि व्यापार घाटाको कारण बनिरहेको छ । त्यसमाथि भारतमा खडा गरिएका विभिन्न अवरोधले नेपाली वस्तु सहजै भारत प्रवेश गर्न पाइरहेका छैनन् । हालैमात्र भारतले अदुवा निर्यातमा गरेको रोकावटलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल भारतीय वस्तुसँग नेपाली वस्तुको प्रतिस्पर्धी क्षमता झनझन घट्दै गइरहेको बताउँछन् । ‘नेपालमा लेवर कष्ट बढ्दै गइरहेको छ, उत्पादन प्रणाली परम्परागत छ, ऊर्जाको चरम संकटले डिजेलबाट उद्योग चलाउँदा उत्पादन लागत ह्वात्तै बढेको छ’, उनले भने, ‘यस्तो अवस्थामा भारतमा उत्पादित वस्तुसँग नेपाली वस्तुले ‘प्राइस वार’ गर्न सक्दैनन् ।’
प्रधानमन्त्रीको पहल आवश्यक
नेपाली अदुवामा लगाएको प्रतिबन्ध हट्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् । उनको भारत भ्रमणलाई यतिबेला नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ । निजी क्षेत्रले पनि भ्रमणको बेलामा भारतसँग व्यापार अवरोध हटाउनका लागि पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
अहिले भारतमा एक रुपैयाँको निर्यात गर्दा १० रुपैयाँभन्दा बढीको आयात भइरहेको छ । नेपालको व्यापार घटाउन मुलुकभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात सहजीकरण गर्नुपर्ने देखिन्छ । सबैभन्दा पहिला निर्यातयोग्य वस्तुको पहिचान गरी विदेशी लगानी भित्र्याएर उत्पादन बढाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा बताउँछन् । अनि नेपाली व्यवसायीले भारतमा सहज व्यापार गर्न पाउने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले क्वारेन्टाइनमा देखिएको समस्या समधानका लागि भारत सरकारसँग पहल गर्नुपर्ने हुन्छ । पटकपटक नेपाली कृषि वस्तुको गुणस्तरमा प्रश्न तेस्र्याएर निहुँ खाज्दै भारतले प्रतिबन्ध लगउँदै आएको छ । नेपाली कृषि उत्पादनले भारतीय बजारमा सहज प्रवेश पाएमा नेपाली किसानमा पनि उत्साह थपिने राणा बताउँछिन् ।
नेपालको निजी क्षेत्रले भ्रमणको बेलामा भारतसँग बढ्दो व्यापार घाटा कम गर्ने गरी कुरा उठाउन सुझाएको छ । दुई देशबीचको लगानी अभिवृद्धि र व्यापार विस्तारका विषयमा पनि उच्चस्तरमा कुरा उठाउनुपर्ने उद्योगी व्यवसायीले आग्रह गरेका छन् । यस्तै, नेपाली वस्तु निर्यातमा भारतीय भन्सारमा हुने ढिलाइ र भारतको एउटा राज्यबाट अर्को राज्यमा वस्तु पठाउँदा आउने बाधा अड्चनका बारेमा पनि भ्रमणको बेलामा कुरा उठाउनुपर्छ ।
सेवा व्यापार बढाउनुपर्छ
व्यापारविद् प्रचण्डमान श्रेष्ठ भारतसँग वस्तु व्यापारबाट मात्र व्यापार घाटा कम गर्न सम्भव नरहेको बताउँछन् । नेपालभन्दा भारतमा कम मूल्यमा वस्तु उत्पादन हुने हुँदा नेपाली वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । ‘नेपालले वस्तु व्यापारसँगै भारतसँग ऊर्जा र पर्यटनबाट फाइदा लिनेतर्फ लाग्नुपर्छ’, उनले भने, ‘प्रशस्त ऊर्जा उत्पादन गरेर भारतमा निर्यात गरौं । त्यस्तै, प्रशस्त भारतीय पर्यटक नेपाल भित्र्याएर वस्तु व्यापारबाट भएको घाटा परिपूर्ति गर्नुपर्छ ।’
जलविद्युत्मा प्रशस्त सम्भवना भएको नेपालले उल्टै भारतबाट बिजुली आयात गरिरहेको छ । भारतसँग नेपालले वस्तु व्यापारमा मात्र नभएर सेवा व्यापारमा समेत घाटा सहँदै आउनुपरेको छ । बढीभन्दा बढी ऊर्जा उत्पादन गरेर भारतमा निर्यात गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यसका लागि ऊर्जामा ठूलो भारतीय लगानी भित्र्याउन प्रधानमन्त्रीले आह्वान गर्नुपर्छ ।
भारतका जीएमआर र सतलजले नेपालमा ९÷९ सय मेगावाटका अपर कर्णाली र अरुण तेस्रो परियोजना बनाउन लागेका छन् । नेपाल सरकारले दुवै कम्पनीलाई तत्काल काम सुरु गर्नका लागि पहल गर्नुपर्ने देखिएको छ । उनीहरूले तत्काल काम सुरु गरेमा अन्य कम्पनी पनि आकर्षित हुने विश्वास छ । अहिले नेपालको दोष देखाउँदै दुवै कम्पनीले काम अगाडि बढाएका छैनन् । प्रधानमन्त्रीले नेपालका सम्भावित क्षेत्रमा भारतीय लगानीकर्तालाई आह्वान गर्नुपर्ने महासंघकी वरिष्ठ उपाध्यक्ष राणाले बताइन् । अहिले नेपाल भित्रिएको भारतीय लगानी नगन्य छ ।
नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउँछन् । तर, यो संख्या निकै कम रहेको देखिन्छ । गत वर्ष ७५ हजारमात्र भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षमा एक लाख ३५ हजार पर्यटक भित्रिएका थिए । नेपालमा प्रशस्त खर्चालु भारतीय पर्यटक भित्र्याउन सकेमा वस्तु व्यापारबाट भएको घाटा पर्यटकबाट असुल्न सकिने श्रेष्ठको भनाइ छ ।
भारतमा उठाउनुपर्ने थप मुद्दा
भारतमा ट्रान्जिट कस्टसमेत उच्च छ । प्रधानमन्त्रीले यसलाई घटाउन पहल गर्नुपर्ने व्यावसायिको सुझाव छ । यस्तै, नेपालले प्रयोग गर्न पाउने भनेको विशाखापट्टनम बन्दरगाहलाई तत्काल कार्यान्वयनमा ल्याउन पनि प्रधानमन्त्रीले भारत सरकारलाई झकझकाउनुपर्छ ।
सीमा क्षेत्रमा बनाउने भनिएका ‘इन्टिग्रेटेड चेकपोस्ट’ (आईसीपी)को काम पनि भारतकै कारण अगाडि बढेको छैन् । आईसीपीको काम अगाडि बढाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिइसकेको छ । भारतसँग सहजै व्यापार गर्ने वातावरण मिलाउन प्रधानमन्त्रीले भारतको उच्चस्तरमा पहल गर्नुपर्ने व्यावसायीको जोड छ । इन्फोनेपालको कुल वैदेशिक व्यापारमध्ये दुई तिहाइ भारतसँग हुने गर्छ । गत वर्ष भारतसँग पाँच खर्ब २३ अर्ब रुपैयाँको व्यापार भयो । यसमध्ये निर्यात ३९ अर्ब छ भने आयात चार खर्ब ८३ अर्ब रुपैयाँ छ ।