सरुवाको निहुँमा नगरपालिकाका कार्यकारी अधिकृत कार्यालयमै कुटिए

सरुवाको निहुँमा नगरपालिकाका कार्यकारी अधिकृत कार्यालयमै कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ भाद्र २०७३
  • 23.2K
    Shares

वीरगन्ज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृतमाथि कार्यालयकै एक कर्मचारीले आज दिउँसो हातपात गरेका छन् । कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालालाई प्रशासकीय अधिकृत रामदयाल यादवले कुटपिट गरेका हुन् । आफनो कार्यकक्षमा बसिरहेका बेला कार्यकारी अधिकृत कोइरालालाई प्रशासकीय अधिकृत यादवले दिउँसो साढे १२ बजे कुटपिट गरेको उपमहानगरपालिका कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
चालकको तलब बृद्धिसम्बन्धि कागजातमा रायसुझावका लागि सिफारिस गराउन भन्दै प्रशासन शाखामा गएका चालक र प्रशासकीय अधिकृत यादव विवाद भएपछि त्यही निहुँलाई लिएर प्रशासकीय अधिकृत यादवले कार्यकारी अधिकृत कोइरालालाई कुटपिट गरेका हुन् ।
चालकले लिएर गएको कागजातमा प्रशासकीय अधिकृत यादवले सिफारिस गर्न नमानेपछि क्षेत्रीले यादवको टेबुलमा मुक्का हान्दै ठटाएपछि आक्रोशमा आएका यादवले कार्यकारी अधिकृत कोइरालाको कार्यकक्षमा अचानक गएर उनलाई हातपात गरेको उपमहानगरपालिका कार्यालयका कर्मचारीले बताएका छन् ।

वीरगन्ज उपमहानगरपालिका कार्यालय
वीरगन्ज उपमहानगरपालिका कार्यालय

प्रशासकीय अधिकृत यादवले कार्यकारी अधिकृत कोइरालालाइ हातपात गरेपछि कार्यालयका कर्मचारीहरु काठ ठप्प पारेर बसेका छन् । उपमहानगरपालिका कार्यालय परिसर अहिले तनावग्रस्त रहेको र त्यहाँ प्रहरी परिचालन गरिएको छ ।
कार्यकारी अधिकृत कोइरालालाइ हातपात गरेपछि यादव फरार छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लामो समयदेखि लेखा शाखामा कार्यरत रहेका यादवलाइ कार्यकारी अधिकृत कोइरालाले प्रशासन शाखामा सरुवा गरेपछि दुवै जना बीच विवाद हुँदै आएको थियो । त्यही निहुँमा यादवले आज कार्यकारी अधिकृत कोइरालालाइ हातपात गरेको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया