७ हत्याका आरोपी ‘सिरियल किलर’ रईस पक्राउ

७ हत्याका आरोपी ‘सिरियल किलर’ रईस पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० भाद्र २०७३
  • 12.5K
    Shares

भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रईस मिया

कुख्यात सिरियल किलर भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रईस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीमा चार र सुनसरीका तीन जनाको हत्याका आरोपी उनलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा आईतवार त्रिभुबन बिमानस्थलवाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।

रईस भारतीय नागरिक हुन् । बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा बगमरिया घर भएका उनी सप्तरीको सारस्वर गाबिसमा बस्दै आएका थिए । बिमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका रईसलाई सप्तरी ल्याइ जिल्ला प्रहरी कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

रईससहितको समूहले सप्तरीमा २०६९ सालमा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन, ०७० सालमा जण्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाबिस–५ की निर्मलादेवी साहको हत्या गरेको आारोप प्रहरीको छ ।

यस्तै, रईस सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीनजनाको हत्या भएको घटनामा समेत संलग्न रहेको ढकालले जनाए । लामो समयदेखि फरार रहेका रईस नेपाली नागरिकता र राहदानी बनाई रोजगारीका लागि बिदेश गइरहेको सूचनापछि प्रहरीले पक्राउ गरेको हो ।

सबै हत्याका घटना पैसाको नियतले भएको एसपी ढकालले जानकारी दिए । कुनै बहानामा रकम लिने त्यसपछि हत्या गर्ने र खाल्टो खनी गाड्ने अनि फरार हुने प्रवृत्ति सबै घटनामा देखिएको एसपी ढकालले बताए ।

परेका रईसका साथबाट नेपाली राहदानी समेत बरामद भएको छ । उनीमाथि कर्तव्य ज्यानसहित नक्कली नागरिकता र राहदानी लिएको विषयमा अनुसन्धान सुरु गरिएको एसपी ढकालले जनाए ।

अधिकांस हत्या सम्पत्तिका लागि

रइस र सकिल मिलेर गरेका अधिकांस हत्या सम्पत्तिका लागि गरेको देखिन्छ । सकिलले सुनसरीमा आफ्नै पत्नी, सासू-ससुराको हत्या गर्दा पनि रइसले सघाएको प्रहरीको भनाई छ ।

२०७० पुसमा सासुको उपचार गराउने भन्दै ससुराली सप्तरीबाट सुनसरीको इनरुवास्थित आफ्नो डेरामा बोलाएर सकिलले रइससँग मिलेर पत्नी, सासू र ससुराको हत्या गरेका थिए ।

सकिल हुसेन र सैरुन खातुनबीच २०७० मंसिरमा प्रेम विवाह भएको थियो । विवाहपछि उनीहरु इनरुवामा घर भाडामा बस्दै आएका थिए ।

आमा बिरामी भएपछि उपचार गराउने बहानामा उनले सप्तरीबाट सुनसरी डेरामा बोलाएका थिए । पत्नी र सासू-ससुरालाई सकिलले आफू डेरा बस्ने घरको कम्पाउण्ड भित्र हत्या गरेर गाडेको खुलेको थियो । प्रहरीले त्यहींबाट तीनै जनाको शव उत्खनन गरिसकेको छ ।

यी हत्या सम्पत्तिका लागि दुबै मिलेर गरेको प्रहरीले जनाएको छ । सासूको उपचारका लागि भनेर सकिलले ससुराको तीन कठ्ठा जमिन बन्धकी राख्ने भनेर आफ्नो नाममा पारेका थिए ।

यस्तै सप्तरीको जण्डौल गाविस-६ बस्ने दुलारीदेवी साह, त्रिकौल गाविस-५ बस्ने निर्मलादेवी साह तथा टिकुलिया गाविसका सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको छुट्टाछुट्टै मितिमा अन्य सहयोगीको साथमा यी दुबैले हत्या गरेको प्रहरी रेकर्डमा उल्लेख छ ।

जेलभित्रै बन्यो योजना

टिकुलिया गाविसका सहबुद मियाँ आफ्ना छोरा आलम जेलबाट रिहा हुनेमा आश्वस्त थिए । उनकी बुहारी सगिरा खातुनलाई पनि पति चाँडै जेलबाट बाहिर आउने लागिसकेको थियो । कारण सहबुद र सागिराले आफ्ना छोरा र पतिलाई जेलबाट निकाल्नका निम्ति तीन लाख रुपैयाँ सकिल हुसेनलाई दिएका रहेछन् । व्यक्तिको हत्या गरेको अभियोगमा राजविराज कारागारमा रहेका सहबुदका छोरा आलम त रिहा भएनन् तर सकिललाई रिहा गराउनका लागि रकम दिने ससूरा र बुहारीले भने ज्यान गुमाउनुपर्‍यो ।

टिकुलिया गाविस-७ घर भई कुशहा गाविस-६ मा रहँदै आएका सकिल हुसेन २६ वैशाख २०६४ मा मल्हनिया गाविस-६ बस्ने ३४ वर्षीय आरुल मियाँको पटेर्वा गाविस-१ स्थित दिहुल खोलामा हत्या गरी लास गाडेर वेपत्ता पारेको घटनामा ४ मंसिर २०६८ मा पक्राउ परेका थिए ।

पक्राउपछि भएको अनुसन्धान पश्चात उनलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएको थियो । कारागारमै हत्या गरेर पुगेका सहबुदका छोरा आलम पनि पुगे । सकिलसँग आलमको गहिरो मित्रता भयो । सोही क्रममा सकिल २ जेठ २०७० मा तारेखमा छुटे । आफू छुटेपछि उनले आलमको परिवारसँग भेट गरी सबैलाई छुटाइदिने आश्वासन दिए । त्यस क्रममा आलमका पिता सहबुद मियाँसँग करिब तीन लाख रुपैयाँ सकिलले लिएका थिए ।

रकम लिएपछि पनि आलम रिहा हुन नसक्दा सहबुद र आलमकी पत्नी सगिरा खातुनले उनलाई ताकेता गर्न थाले । यसपछि सकिलले सहबुुद र सगिरालाई १० असोज २०६९ मा काठमाडौं जान भनी कुशहा चोकमा बोलाए । त्यसपछि मोटरसाइकलमा बसालेर उनले लगेपछि ससुरा-बुहारी सोही दिनदेखि बेपत्ता थिए ।

कारागारमै दुलारीदेवी साह र उनका पति धिरेन्द्र साह पनि आएछन् । १७ पुस २०६९ मा जण्डौल गाविस-८ निवासी डम्बर भट्टराई र निजकी पत्नी कौशिला भट्टराईको हत्या घटनामा संलग्न भई फरार रहेकोमा साह दम्पत्ति स्वयम् अदालतमा उपस्थित हुँदा दुलारी देवी साह तत्काल पुर्पक्षका लागि थुनामा गई केहि समयपछि तारेेखमा छुटेकी थिइन् भने धिरेन्द्र साह पुर्पक्षका लागि थुनामै थिए ।

चतुर सकिलले दुलारीका पति धिरेन्द्र साहलाई छुटाइदिन्छु भन्दै दुलारीका ससुरा सिताराम साहको नाममा रहेको करिब तीन कठ्ठा जमिन ६ लाख रुपैयाँमा बेच्न लगाई २०७० मंसिर तिर लिएका थिए । तर सकिलले ६ लाखको प्रमाण नष्ट गर्न रकम लिएको केहि दिनमै दुलारीको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।

त्रिकौलकी निर्मलादेवीको हत्या समेत सकिल र उनका सहयोगीहरुले नै गरेका रहेछन् । निर्मला देवी साह आफ्ना जेठाजुहरुसँगको अंश सम्बन्धि मुद्दा सप्तरी जिल्ला अदालतमा लडिरहँदा उनी जिल्ला अदालत आइरहन्थिन् । सकिल पनि सप्तरी अदालतमा आउँदा-जाँदा उनको भेट र चिनजान निर्मलादेवीसँग भयो ।

त्यस क्रममा सकिलले निर्मलादेवी साहको कमजोरी पत्ता लगाई अंश मुद्दामा परिवार सगोलमा नै रहँदाको ऋण देखाएमा मुद्दा फैसला हुने हुँदा सो बराबरको रकम तिमीलाई आउँछ । खर्च गर्ने भए कागजातहरु बनाइदिन्छु भनि निर्मलादेवीबाट रकम लिने योजना बनाए । बिभिन्न व्यक्तिबाट निर्मला देवीले करिब १ करोड ऋण लिएको तमसुक कागज बनाइदिइन् ।

तर निर्मला देवीले पैसा दिन नसकेपछि छोरा दिपककुमार साहलाई बिदेश पठाइदिने बहाना बनाई एक लाख पचास हजार रुपैयाँ जम्मा गर्न लगाई उक्त पैसा लिनका लागि योजनाबद्ध रुपमा निर्मला देवीको हत्या गरी सो तमसुक कागजातहरु समेत आफैले लगेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

मायाजालको नाटक पछि हत्या

सप्तरी प्रहरीले सकिल र रइसबाट मारिएका व्यक्तिहरुको शव उत्खनन् गरिसकेको छ । करिब एक वर्षअघि नै शव उत्खनन् गर्ने कार्य भएपनि मुख्य हत्याराहरु पक्राउ पर्न सकेका थिएनन् ।

घटनामा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरिएका व्यक्तिहरुको सूचनाका आधारमा वेपत्ता भएका दुलारीदेवी, सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या भइसकेको र उनीहरुको शव गाडिएको तथ्य फेला परेको थियो ।

कंकाल-१-दुलारी-देवी

दुलारीको शव जण्डौल गाविसबाट २०७२ साल वैशाख २४ गते, सहबुदको शव सोही वर्ष जेठ ६ गते कल्याणपुर गाविस-८ भदैयाबाट तथा उनकी बुहारी सगिराको २०७२ असार ५ गते भदैयाबाटै उत्खनन् गरिसकिएको छ ।

सकिलका पत्नी, सासू र ससुराको भने सुनसरीको इनरुवामा गाडिएकै अवस्थामा शव फेला परेको थियो ।

सकिल हुसेन र मुस्तकिम भन्ने रइस मियाँ मिलेर डर, त्रास, धाक, धम्की, मायाजाल तथा पैसाको प्रलोभनमा पारी अन्य सर्वसाधारणलाई प्रयोग गरी घटनाको योजनालाई मुर्तरुप दिएको प्रहरी बताउँछ ।

घटना पश्चात ती व्यक्तिहरुबाट घटनाको तथ्य उजागर हुने हुँदा घटनामा संलग्न हुनेहरुलाई पुनः आफैले षडयन्त्र गरी हत्या गर्ने गरेको पाइएको छ । प्रत्येक घटनामा सुरुमा कुनै न कुनै महिलासँग मायाप्रेमको नाटक गरी नजिक भई विश्वास प्राप्त गर्ने र आफ्नो अनुकुल अपराधिक कार्यमा प्रयोग गर्ने गरेको र निजलाई समेत हत्या गर्ने गरेको प्रहरी अनुसन्धानबाट उजागर भएको छ ।

सहबुद मियाँ र उनकी बुहारी सगिरा वेपत्ता भएपछि सहबुदकी पत्नी कैली खातुनले सकिल हुसेनविरुद्ध कल्याणपुर इलाका प्रहरी कार्यालयमा अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गराइन् । तर घटनाको वास्तविकता थाहा हुन सकेको थिएन ।

अनुसन्धानको सिलसिलामा सकिल हुसेनलाई सोधपुछ गर्दा निज ससुरा-बुहारी भागी लुकीछिपी बसेको हुनुपर्छ भनी उल्लेख गरी घट्ना ढाकछोप गराउने उद्देश्य समेत लिएको पाइएको छ । सोही अनुसार २०६९ साल कात्तिक ८ गते दुलारीदेवी साह मार्फत सहबुद मियाँ र सगिरा खातुनविरुद्ध चोरी शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन लगाएका थिए ।

ससूरा बुहारी वेपत्ता भएसम्म तारेखमा रिहा भएकी दुलारी पनि सकिलकै पक्षमा थिइन् । उनलाई आशा थियो आफ्नो श्रीमान् धिरेन्द्रलाई यीनले रिहा गराउनेछन् । तर त्यसबीचमा दुलारी समेतको संलग्नतामा ससुरा-बुहारीको हत्या भइसकेको प्रहरीले जनाएको छ ।

कहिले पक्राउ पर्लान् सकिल ?

हत्यामा संलग्न भएकामध्ये प्रहरीले केहि व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका अभियुक्तहरुलाई दुलारी देवी साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सम्पूर्ण अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल मार्फत सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गर्दा हत्याराहरुमध्ये अलाउद्दिन मियाँ, नसरुल मिया र हजरुन खातुन २९ जेठ २०७२ मा पुर्पक्षको लागि थुनामा छन् ।

नगिना खातुन १८ हजार रुपैयाँमा, सगिना खातुन २७ हजार रुपैयाँमा र मजलुम ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।

‘अब रइस पक्राउ परेपछि सकिललाई समात्ने प्रयासमा छौं,’ एसपी ढकालले भने, ‘केहि दिनभित्रै उनलाई पनि नियन्त्रणमा लिनेछौं ।’

प्रतिक्रिया