सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री ओलीको व्यस्तताको कारण एजेण्डामा मात्रै तय भएको तर कुनै निर्णय नभएको नेताहरुले जानकारी दिए । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार साँझ ५ बजे नै फेरि संयन्त्रको बैठक बस्ने जानकारी दिए ।
बैठकमा सरकारको कामकारवाही, प्रधानमन्त्रीको भारत भ्रमण, मधेसी मोर्चाको जारी आन्दोलन र नाकाबन्दी लगायतका एजेण्डामा छलफल भएको प्रचण्डको भनाइ छ । एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेअनुसार आइतबार बैठक बसेको थियो । यसअघि बसेको एमाओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुनेगरी सरकारले काम नगरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन ।
शनिबारमात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेका थिए । ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्वपूर्ण विषयमा संयन्त्रमार्फत अगाडि बढ्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूवसर्तबारे फरकफरक टिप्पणी गरेपछि आफैंलाई त्यसबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको गुनासो दाहालले गरेका थिए । दाहालले सरकारको कामकारबाही, आसन्न भारत भ्रमण, साढे चार महिनादेखि निरन्तर नाकाबन्दी र त्यसबाट सर्वसाधारणको दैनिकीलगायतका विषयमा केही नीति तय गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बस्नुपर्ने बताएका थिए ।
ओलीले संयन्त्रको बैठकमा आफूले केही महत्वपूर्ण एजेन्डामा स्पष्ट गर्ने र आफूहरू नीतिगत निर्णयका साथ अघि बढ्नुपर्ने बताएका थिए । शनिबारै दाहालसँग मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले भेटी संविधान संशोधनले मधेसका मुद्दा नसमेटिएको भन्दै मौन नरहन आग्रह गरेका थिए ।
त्रिपाठीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका हैसियतमा मधेस र मधेसीको मागप्रति संवदेनशील हुन आग्रह गरेका थिए । दाहाल र ओलीबीच मधेसी दलबीच बन्न लागेको महागठबन्धन, त्यसलाई दिल्लीदेखि बिहारसम्मका केही नेताको सहयोग र समर्थनबारे पनि छलफल भएको थियो ।