मनाङ मस्र्याङ्दी क्लबले १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुवास गुरुङको निर्णायक गोलको मद्धतले मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै पाँच लाख एक हजार एक रुपैयाँ नगद सहित उपाधि उचालेको हो । मनाङले आहारारा गोल्डकपमा चौथो पटक उपाधि उचाल्दा त्रिभुवन आर्मी क्लब पोखराको मैदानमा फेरि अभागी सावित बन्यो ।
पछिल्लो पटक लगातार तीन पटक फाईनल पुगेको मनाङ यसपटक भने चुकेन । पोखरा रंगशालामा खचाखच दर्शकबीच भएको फाईनल खेलमा दोस्रो हाफमा ४९ औं मिनेटमा सुवासले गरेको गोल नै निर्णायक बनेको हो । मनाङले पहिलो सिजनको पहिलो प्रतियोगिताको उपाधि मात्र उचालेन, लगातार आधा दर्जन बढि भेटमा हावी बनेको आर्मीलाई लामो समयपछि हराउन सफल भयो । मनाङ गत वर्ष थ्रीस्टारसँग र दुई वर्ष अघि आयोजक सहारासँग समान १–० गोलले फाईनलमा पराजित भएको थियो ।
उत्कृष्ट प्रदर्शनका बाबजुत आर्मीले पाएका अवसर सदुपयोग गर्न नसक्दा तेस्रो पटक पनि उपाधि विमुख बन्यो । यसअघि दुई पटक उपविजेता आर्मी दुई लाख ५१ हजार एक रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगितामा सातौं र आठौं संस्करणमा लगातार फाईनल पुगेको आर्मी दुवै पटक नेपाल पुलिससँग पराजित भएको थियो । क्याराभान सहित १३ औं सहभागितामा चार पटक विजेता र चार पटक उपविजेता बन्दै प्रतियोगितामा दोस्रो सफल टीमका रुपमा आफुलाई उभ्याएको छ । सर्वाधिक सफल पुलिसले पाँच चोटी उपाधि उचाल्दा तीन पटक उपविजेतामा चित्त बुझाएको छ । थ्रीस्टार चार पटक फाईनल पुगेकोमा चारै पटक उपाधि उचालेको छ ।
आर्मीका धेरै प्रयासहरु विपक्षी गोलरक्षक किरण चेम्जोङले बचाउ गरे । उनी फाईनल खेलको म्यान अफ दि म्याच पनि बने । पहिलो हाफमा हावी बनेको आर्मी गोल व्यहोरेपछि भने दबाबमा आएको थियो । मनाङका पनि केहि प्रहारहरु खेर गए । खेलमा दुवै टीमका कप्तान मनाङका अनिल गुरुङ र आर्मीका भरत खवास सहित आर्मीका दीपक गुरुङ र मनाङका ओलावालेले पहेंलो कार्ड व्यहोरे ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी मनाङका जर्सी नं. ९ का विश्वास श्रेष्ठ बने । उनले हिरो ड्यास स्कुटर प्राप्त गरे । प्रतियोगिता अवधिभर चार गोल गरेका मनाङकै विदेशी खेलाडी ओलावाले उच्च गोलकर्ता बन्दै नगद २५ हजार प्राप्त गरे । उनी बेष्ट स्ट्राईकर समेत बन्दै थप १५ हजार प्राप्त गरे । बेस्ट गोलकिपर मनाङका किरण चेमजोङ, बेष्ट डिफेण्डर आर्मीका हिरण्य मगर, बेष्ट मिडफिल्डर आर्मीकै दीप लामा बने । बेस्ट कोच मनाङका छिरिङ लोप्साङ गुरुङ, फेयर प्ले टीम आयोजक सहारा क्लब बन्दै सबै विधागत उत्कृष्टले जनही नगद १५ हजार प्राप्त गरे । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई उद्योगपति, समाजसेवी तथा पुर्वसभासद् सुर्यवहादुर केसी, व्यवस्थापिका संसद सदस्य एवं विकास समिति सभापति रविन्द्र अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले स्ट्राईकरले स्कोर गर्न नसकेपनि डिफेन्स लाईन सशक्त बन्दा एक गोलले पनि उपाधि उचाल्न सम्भव रहेको बताए । आर्मीले अवसर सदुपयोग गर्न नसक्नु र मनाङको डिफेन्स र गोलरक्षक बलियो बन्दा पनि उपाधि जितेकोमा उनले खुशी व्यक्त गरे । यद्यपी, लिग उपविजेता आर्मीसँगको प्रतिष्पर्धा सधैं टफ नै हुने उनको भनाई थियो ।
पहिलो सिजनको पहिलो प्रतियोगिता जितेकोमा उनी मात्र होईन कप्तान अनिल गुरुङ पनि साह्रै खुशी देखिए । अनिलले आफ्नो कप्तानीमा आफ्नो भुमि पोखरामा टीमलाई जिताउँदा साह्रै खुशी भएको प्रतिक्रिया दिँदै पोखरेलीको यस्तै मायाको अपेक्षा गरे । ‘मैले तीन खेल खेल्दा पनि स्कोर गर्न सकिनँ तर मेरो टीमले जितेको छ । मलाई नै थाहा छैन किन पोखरामा मैले र समर्थकले सोचेजति हुन सक्दैन ।’ उनले भने– ‘सबैको मेहनतले जित्यौं । खुशी लागेको छ ।’ निर्णायक गोलकर्ता सुवास गुरुङले मनाङमा यसअघिको सिजनमा आबद्धतापछि यो दोस्रो गोल भन्दै यही गोलले उपाधि जित्दा अत्यन्तै हर्षित भएको बताए । चीरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारबाट यसै सिजनमा मनाङ छिरेका उत्कृष्ट गोलरक्षक किरण चेमजोङले दुई प्रतिष्पर्धी टीम एकबाट अर्कोमा जाँदा आफुमा चुनौति थपिने र अहिले यो प्रतियोगिताबाट आफुले भुमिका राम्रोसँग निर्वाह गर्न सकेको बताए ।
आर्मी प्रशिक्षक मेघराज केसीले खेलाडीहरुको प्रदर्शनबाट आफु सन्तुष्ट रहेको जनाउँदै मेहनत गर्दा पनि कहिँलेकाहिँ यस्तो हुने प्रतिक्रिया दिए । उनले पहिलो हाफमा पुरा दबाबमा राख्न सकेपनि अवसरहरु पटक पटक खेर जाँदा सोचेनुरुप नतिजा ननिस्किएको बताए ।
यसअघि, बाई पाएर सिधै क्वार्टर फाईनल खेलेको मनाङले पहिलो खेलमा ईण्डियन आर्मी गोर्खा ब्रिगेडलाई २–० तथा सेमिफाईनलमा झापा ११ लाई ४–० ले हराएको थियो । आर्मीले प्रिक्वार्टरमा जावलाखेल युथ क्लबलाई २–०, दोस्रो खेलमा थ्रीस्टार विरुद्ध १–० गोल र सेमिफाईनलमा आयोजक सहारालाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा मनाङ र आर्मीसँगै आयोजक सहारा क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस,सशस्त्रको एपीएफ, नव जनजागृति सिमरा, झापा ११, जावलाखेल युथ क्लब, भारतबाट ईन्डियन आर्मी गोर्खा ब्रिगेड टीम र युनाईटेड सिक्किम एफ.सि. तथा बंगलादेशको रहमदगञ्ज एम एफ सोसाईटी, बंगलादेशको सहभागिता थियो ।
हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजनमा भएको यस प्रतियोगिता अवधिभर विक्री भएको प्रति गेट टिकटबाट प्रतिटिक एक रुपैंया पोखरा रंगशालाको फुटबल खेल मैदान पूर्वाधार निर्माण तथा मर्मत सम्भारको निम्ति छुट्टयाईने अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए । यसैबीच, प्रतियोगिता अवधिमा टिकट काटी अवलोकन गर्ने दर्शक मध्ये एक जनालाई गोलाप्रथाद्धारा एक तोला सुनको सिक्का र सि.जि.ईलेक्ट्रोनिक्स प्रा.लि. (चौधरी गु्रप) बाट अर्का एक जनालाई एल जी टि.भी. समेत प्रदान गरिएको थियो ।
सर्वोत्कृष्ट खेलाडी ः विश्वास श्रेष्ठ (मनाङ)
उच्च गोलकर्ता ः ओलावाले, ४ गोल (मनाङ)
उत्कृष्ट फरवार्ड ः ओलावाले (मनाङ)
उत्कृष्ट मिडफिल्डर ः दीप लामा (आर्मी)
उत्कृष्ट डिफेण्डर ः हिरण्य मगर (आर्मी)
उत्कृष्ट गोलकिपर ः किरण चेमजोङ (मनाङ)
उत्कृष्ट प्रशिक्षक ः छिरिङ लोप्साङ गुरुङ (मनाङ)
फेयर प्ले टीम ः सहारा क्लब