सर्वोच्च अदालतको आदेश बेवास्ता गर्दै सरकारले चीन र भारतका लागि राजदूत सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले चीनका लागि पूर्वमूख्य सचिव लिलामणि पौड्याल र भारतका लागि कांग्रेस नेता दीपकुमार उपाध्यायको नाम सिफारिस गरेको हो ।
यसअघि पनि भारतका लागि राजदुत भएका उपाध्यायलाई एमाले अध्यक्ष केपी ओलीको सरकारले फिर्ता बोलाएको थियो । ओली सरकारले सिफारिस गरेका चीन सहितका १४ मुलुकका राजदूतको नाम फिर्ता लिएको थियो । सर्वोच्च अदालतले सरकारका नाममा राजदूत फिर्ता गर्ने निर्णय टुंगो नलागेसम्म नियुक्ती प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको थियो ।
यस्तै आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकमा कार्यरत मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिएको सरकारका प्रवक्ता, सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । बैठकले पूर्णचन्द्र भट्टराईलाई सचिवमा बढुवा गर्दै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा ऋषि अधिकारीलाई नियुक्त गरेको छ ।
यस्तै आजको बैठकले मलेसिया तथा बिभिन्न खाडी मुलुकमा पासपोर्ट नविकरणमा लाग्ने शुल्क घटाएको छ । परराष्ट्रमन्त्रालयको सिफारिसमा यसअघिको रकममा ३० डलरले घटाउदै मन्त्रीपरिषद्ले ५० डलर कायम गर्ने निर्णय गरेको हो ।